माङसेबुङ – सबै जाति र सबै पार्टी अट्ने गरी किरात सगरमाथा प्रदेश माग गरेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।
‘आत्माबाट विवेक आएकोले महागुरु फाल्गुनन्दको शालिकलाई साक्षी राखेर प्रदेश १ को नाम किरात सगरमाथा घोषणा गरेको हुँ ।’ अङसीमाङले भन्नु भयो, ‘यो विषय गहँन छ, अहिले देशका नेता र जनताले बुझेका छैन् ।’
‘किरात सभ्यता र विकासको नाम हो । किरात सभ्यता समानतामा आधारित छ । किरात शब्दले सबैलाई अट्न सक्छ ।’ वहाँले थप्नु भयो, ‘हिमाल पर्वतखण्ड माङहरुको बासस्थान हो । यो मोतिको केन्द्रबिन्दु भएरपनि नेताहरुले बुझ्न सकेको छैन् ।’
पहिचान सहितको प्रदेश नं. १ को नामाकरणको लागि शान्तिपूर्ण नैतिक दवाव समितिले आयोजना गरेको विशेष आशीर्वचन तथा प्रशिक्षण कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।
समयको गतिलाई बुझेर एकता भई दार्शनिक कुरा बुझ्ने कोसिस गर्न अनुरोध गर्नुहुँदै अङसीमाङले कोशी प्रदेश बनाइए हामी सबै जाति अट्न नसक्ने बताउनु भयो । वहाँले भन्नु भयो, ‘साँघुरो विचारले सबैलाई नअट्ने भएकोले विचारलाई फराकिलो बनाउनु पर्छ ।’
इतिहासको बारेमा सुनाउनु हुँदै अङसीमाङले भन्नु भयो, ‘हिन्दु र मुस्लिमहरुबीच युद्ध हुँदा यहाँ किरात राज्य थियो, हिन्दुहरुलाई किरातहरुले सरण दिएर बचाएका हुन ।’ संसारमा छरिएर बसेका सारा मानवहरु एकै भएको अङसीमाङले सुनाउनु भयो । थप सुनाउनु भयो, ‘मूल किरातबाट हामी याक्थुङहाङसा भएका हौं, किरातले संसारभर राज्य गरेको इतिहास छ ।’
‘लिम्बुवान हामीले नामाकरण गरेका हौं, लिम्बुवान हामीलाई चाहिन्छ । तर, राज्यले दिँदैनन् ।’ अङसीमाङले थप भन्नु भयो, ‘लिम्बुवानको इतिहास राज्य सञ्चालन गर्ने नेताहरुले नबुझेर होइन, बुझेरनै नदिएका हुन् यसमा गहँन विषय छ ।’
एकता भई अघि बढ्ने समय आएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो । वहाँले भन्नु भयो, ‘यो समय डराएर, लुकेर बस्ने समय होइन ।’ पञ्चायतकालमा समेत एकलै भएपनि किरात धर्म दर्शनको प्रचारप्रसार गर्न नछोडेको प्रसंग वहाँले सुनाउनु भयो ।
नेपालको संविधान निर्माण गर्ने बेलामा पनि धार्मिक विभेद हुने किसिमको संविधान लेख्ने प्रयास भएपछि धर्म निरपेक्षताको आन्दोलन गर्नु परेको अङसीमाङले बताउनु भयो । धर्म निरपेक्षताको आन्दोलन सफल भएको प्रसंग सुनाउनु हुँदै राज्यले त्यसमा पनि सनातन शब्द थपेर केही असमानता कायम राखेको बताउनु भएको छ ।
कार्यक्रममा शान्तिपूर्ण नैतिक दबाव समितिका केन्द्रीय संयोजक डकेन्द्रसिंह थेगिम र सह संयोजक केहेरसिं योङहाङले समितिले गर्दै आएको गतिविधि र आगामी कार्य योजना सम्बन्धि बोल्नु भएको थियो । भने, किरात मोर्चाका केन्द्रीय महासचिव डिल्ली मिभक (तेन्धोङ किरात)ले पनि आफ्नो धारणा राख्नु भएको थियो ।
विभिन्न जिल्लामा गठित दबाव समितिका पदाधिकारी साथै सदस्यहरुको उपस्थितीमा आयोजित कार्यक्रममा मोरङ जिल्ला संयोजक रामभक्त कुरुम्बाङ, झापा जिल्ला संयोजक लक्ष्मी योङहाङ, सुनसरी जिल्ला सह संयोजक कालेन्द्र लाओती, पान्थर जिल्ला संयोजक ध्रुब तुम्बापो, तेह्रथुम जिल्ला प्रतिनिधि टट्बहादुर पन्धाक, धनकुटा जिल्ला प्रतिनिधि शुक बहादुर चेम्जोङले आ आफ्नो जिल्लाको गतिविधिबारे जानकारी गराएका थिए ।
इलामको माङसेबुङमा अवस्थित दर्शनशालामा मंगलबार आयोजित विशेष आशीर्वचन तथा प्रशिक्षण कार्यक्रमको औचित्यबारे अर्थ संयोजक चिरञ्जीवी खालिङले राख्नु भएको थियो । भने, कार्यक्रम सदस्य सचिव पृथिमान खालिङले सञ्चालन गरेका थिए ।