२ असार २०८१, शनिबार | Sat Jun 15 2024

म्यादी प्रहरी भर्नाका लागि आह्वान,भदौ ३० गतेदेखि दरखास्त दिन सकिने



काठमाडौं – आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गरेको छ । सरकारले निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ   ।                                                                          म्यादी प्रहरी हुनको लागि योग्य 

नेपाली नागरिकले म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दा बढी  कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।                                                                                                        म्यादी प्रहरीमा काम गरेकालाई प्राथमिकता 

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ०३ बजे