५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मुन्धुमभित्र सबै कुरा भेटिन्छ : किरात धर्मगुरु



किरात समाचार: किरात लेखकहरुलाई निर्देशन दिने क्रममा भदौ २८ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले मुन्धुम आफैमा अथाह ज्ञानको स्रोत भएको एवं यसबारे खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो ‘मुन्धुमभित्र पस्दा सबै कुरा भेटिन्छ।’

किरात लेखकहरुलाई गत चैतमा दिइएको लेखन जिम्मेवारीको जानकारी लिने क्रममा यो कार्य आफैमा कति गहन छ भन्नेबारे उल्लेख गर्दै किरात धर्मगुरुले थप्नुभयो, ‘तपाईंहरु ठूलो समुद्रमा पसी सक्नु भएको छ अब पौडेर तर्न मात्र जान्नुपर्यो।’

किरात साम्नी यम्बुलुङ (किरात प्रज्ञा प्रतिष्ठान)को कुलपति, प्रमुख संरक्षक किरात धर्मगुरुको गरिमामय उपस्थितिमा माङसेबुङ गुरु निजी आश्रमस्थित यम्बुलुङको कार्यालयमा उपकुलपति किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिमको अध्यक्षतामा सो जानकारी सभा बसेको थियो। सो सभामा अर्का उपकुलपति, लेखक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरिचन्द्र लाओती, प्राज्ञ एवं लेखकहरु क्रमशः मनप्रसाद थङलङ, एनएस फागो, लछामी सेर्मा, सेर्मा साम्जीरी सेमी र भीम गुरुङ तथा लेखक बुद्धहाङ नेम्बाङ ‘सिक्कुमदाङ’ले लेखन कार्यको प्रगति विवरण पेश गरेका थिए।

प्राज्ञ सदस्य माङमिङसोहाङ लिङ्देनले सो जानकारी सभाको औचित्य प्रस्तुत गरेको सो सभा सञ्चालन प्राज्ञ सदस्य सचिव भगिहाङ फेजङ नेम्बाङ ‘रानीटारे साईंला’ ले गरेका थिए।

स्मरण रहोस्, किरात धर्म, किरात भाषा, किरात लिपि र मुन्धुमी साहित्यको निमित्त स्थापित यस यम्बुलुङको कुलपति एवं प्रमुख संरक्षकमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन समेत रहनुभएको छ।

तस्वीर : सुमन लाओती नोमिङ्सो

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ५७ बजे