काठमाडौ – साविक बिजेता भारत माथि ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।
नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् ।
अब नेपालले उपाधिका लगि सोमबार बंगलादेशको सामना गर्नेछ । यसअघि पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो ।