किरात समाचार – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार दिउसो इलाममा र्यालिसहित नेताकार्यकर्ताहरुको उपस्थितिमा नेम्बाङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इलाम क्षेत्र नम्बर – २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
इलाम क्षेत्र नम्बर २ बाट २०५६ सालबाट चुनाव जित्दै आइरहेका नेम्वाङले ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई ९ हजार ६ सय ५४ मतले पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५१८ मत ल्याएका थिए भने प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत ल्याएका थिए । थापालाई हराउदै इलाम क्षेत्र नं २ मा नेम्वाङले विजयी हासिल गरेका थिए।
प्रदेश सभातर्फ क्षेत्र नम्बर २ ” क” मा एमालेका रामबहादुर मगर राना र क्षेत्र नम्बर २ ‘ख’ मा गणेश बराल उम्मेदवार बनेका छन् । राना अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गरेका थिए ।