२ असार २०८१, शनिबार | Sat Jun 15 2024

इलाम क्षेत्र नम्बर – २ प्रतिनिधिसभामा कांग्रेसविरुद्ध जुनु माखिमको बागी उम्मेदवार



माङ्सेबुङ – इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा जुनुकुमारी माखिमले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । माखिमले कांग्रेसमा लामो समयदेखि निस्वार्थ रुपमा लागेको कार्यकर्ताको योगदानको कुनै मूल्यांकन नगरेको आरोप लगाउदै पार्टीबाट विद्रोह गरेको बताइन् ।

२०६४ सालदेखि नेपाली कांग्रेस इलाममा आबद्ध भई राजनीतिमा होमिएकी माखिमले पटकपटक चुनावमा भोट दिएर जिताएको नेताहरुले जनताको काम नगरेको प्रष्ट भएपछि कांग्रेसमा रहेर महिला नेतृत्वले कहिले अवसर नपाएको र पार्टीमा गुटबन्दी हाबी भएकोले कार्यकर्ताविरुद्ध गरेका अन्यायहरुविरुद्धको आवाज भन्दै उम्मेदवारी दिएको बताइन ।

उनिले भनिन् ‘ समग्रमा भन्नू पर्दा हाम्राे देश नेपाल संकटमा गुज्रिरहेको छ । यो संकटबाट मुलुकलाई निकास दिन देश बचाउन देश जोगाउन यो निर्वाचनमा स्वतन्त्रबाट चुनावमा उठेको बताइन । उनले थपिन् इलाम क्षेत्र नं. २ मा महिला नेतृत्वको खाचाे भएकाेले मेराे उम्मेदवारीमा ईलाममेली जनताले मतदान गर्नेमा आशावादी रहेको बताइन् ।उनले भनिन मेरो जीत सुनिस्चित रहेको दाबीकासाथ विश्वास दिलाउन चाहान्छु । मेराे जीतनै ईलाम क्षेत्र नम्बर -२ का जनताको जीत हाे ।’

राजनीति तथा सामाजिक सेवापनि उत्तिकै सक्रिय माखिम जिल्लामै चिरपरिचित छिन् । किरात धार्मिक महिलाहरुको संस्था थामेन्दिङमा पान्जुम्भोको अध्यक्षलगायत दर्जनौं संघसस्थामा आवद्ध भएर आफ्नो कार्यकौशल देखाइ सकेकी छिन् । इलाम जिल्ला पश्चिमी क्षेत्र विकास निर्माणबाट पछि परेको सो क्षेत्रबाट माखिमको उम्मेदवारीलाई स्थानियले चासोको रुपमा हेरिरहेका छन् ।

स्वतन्त्र की बागी

माखिमले नेपाली कांग्रेस इलाम जिल्लामा रहेर पार्टीमा लामो समयदेखि निस्वार्थ रुपमा लागि रहेका कार्यकर्ताको योगदानको कुनै मूल्यांकन नगरेको आरोप लगाउँदै स्वतन्त्रमा उम्मेदवारी दिएको बताइन् । २२ असोजमा जारी गरेको राजीनामा विज्ञप्तिमा भनिएको छ । ‘ विगत दुई दशक बढी समयदेखि नेपाली कांग्रेसको इलाम जिल्लामा रहेर सक्रिय राजनिती गर्दै आएको थिए । पार्टीमा वैचारिक र सिदान्तप्रति फरक मत रहेका नेपाली काग्रेसमा रहिरहन उचित लागेन ।’ औपचारिक रूपमा २२ असोजबाट नेपाली कांग्रेसबाट राजीनामा घोषणा गरेकी माखिमले राजीनामा पत्रमा स्वतन्त्र  उम्मेदवारी दिने उल्लेख गरेकी छन् । नेपाली जनता र इलामबासीको घर दैलोमा स्वतन्त्र उम्मेदवार तय गरेर सेवा गर्न उपस्थित हुने यही बिज्ञाप्ती मार्फत जानकारी गर्दछु ।’

यसैगरी आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी मनोनयन तालिका अनुसार २३ असोज आइतबार इलाम निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साझ ६ :०५ बजेतिर इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन् ।                   

डेढ दशकबाट नेपाली कांग्रेस राजनीतिमा लागेका माखिम नेपाली कांग्रेस महिला संगठन माङ्सेबुङ अध्यक्ष र १३ औ क्षेत्रीय प्रतिनिधि ,१४ औ महाधिवेशन प्रतिनिधिको रूपमा रहेर राजनीति गरिरहेकी माखिम पछिल्लो समय प्रदेश सभामा इलाम क्षेत्र नम्बर २ बाट समानुपातिकमा सिफारिस भएकी थिइन् । तर, बन्दसूचीमा नाम समाबेश नगरिएपछि उनि पार्टीप्रति रुष्ट भएकी थिइन् । उनको उम्मेदवारीलाई लिएर पार्टीको इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का उम्मेदवार रहेको क्षेत्रमा स्वतन्त्र उम्मेदवार मनोनयनको नाममा बागी उम्मेदवारी दिइएको चर्चा चल्न थालेको छ । त्यस्तै २६ गतेसम्म मनोनयन फिर्ता नगराए उनको उम्मेदवारी संगै गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई जित्न थप चुनौती हुने देखिन्छ ।

क्षेत्र नम्बर २ मा को बलियो

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी सो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै माखिम र बोहोराले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गराएका छन् ।   इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेपाली कांग्रेस पार्टी बलियो पार्टीको रूपमा रहेको  छ । यि दुई पार्टीको जनलहर राम्रो देखिन्छ ।

नेम्बाङ र खड्का चुनावी प्रतिस्पर्धामा

इलाम क्षेत्र नम्बर २ बाट ०५६ सालदेखि चुनाव जित्दै आइरहेका नेम्बाङ ०७९ को आमनिर्वाचनसंग पाचौं पटक यो क्षेत्रबाट चुनाव लड्दैछन । नेम्बाङको प्रतिद्वन्दीको रूपमा सत्तागठबन्धनको उम्मेदवार नेपाली काग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा उत्रेका छन् भने दुइजना स्वतन्त्र उम्मेदवार पनि रहेको छन् । नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएकी जुनुकुमारी माखिम लिम्बू र दिपक बोहोरा रहेका छन् ।

०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५१८ मत ल्याएका थिए भने प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत ल्याएका थिए । नेम्बाङले ९ हजार ६ सय ५४ मतले थापालाई हराउदै इलाम क्षेत्र नं २ मा विजयी हासिल गरेका थिए।

२०४१ सालदेखी राजनीतिमा होमिएका डम्बरबहादुर खड्का इलाममा रहेर २०५१ साल देखि २०५८ साल सम्म निरन्तर नेबि संघ इलामको जिल्ला सभापतिमा रहेर काम गरेका खड्का ०५८ सालमा नेबिसंघको केन्द्रिय सदस्यमा निर्वाचित भए ।

यसैगरी २०६४ सालमा नेबि संघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएर २०६९ साल सम्म नेपाल बिद्यार्थी संघको जिम्वेबारी सम्हालेका खड्का १२ औ अधिवेशनबाट जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधी र तेहौं महाधिवेशनमा इलाम जिल्लाको सभापति पदमा विजयी भएका छन् ।

खड्काले प्रदेश सभा ०७४ को निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट इलाम क्षेत्र नम्बर २ को ‘ क ‘मा प्रदेश सभाको उमेद्धवार खड्का ३ हजार ५ सय ८६ मतले पराजित भए । एमाले माओवादी गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ ‘ क ‘मा एमालेका रामबहादुर मगर रानाले १९ हजार ८ सय ३८ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १६ हजार २ सय ८६ मत ल्याएका थिए ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गका गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर – १ ‘ क ‘ मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर – १ ‘ख’ मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर २ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : १८ बजे