९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

आजदेखि प्रथम अठासी गोल्डकप सुरु, माङ्सेबुङ र एम.एस.सी.माई भिड्दै



माङसेबुङ । आज शुक्रबारदेखि इलामको माङसेबुङमा लालीगुँरास युवा क्लव नेनेदेन माङसेबुङ, इलामको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ शुरु हुदैंछ ।

किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा आज हुने उद्घाटन खेलमा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ र एम.एस.सी.माई ६, इलाम बीच प्रतिस्पर्धा हुदैंछ ।

प्रतियोगितामा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ, एम.एस.सी.माई ६, इलाम, चियावारी एफ.सी. माई ३, इलाम, अठासी ११ सेतो, युनाइटेड एफ.सी. इलाम, एस.एफ.सी. इलाम, युनाइटेड सिम्ले कमाल गा.पा. इलाम, लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा, आयोजक रातो, चुलाचुली एप.सी. इलाम र एस। वाई. सी. सैनिक झापा गरि १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

लालीगुँरास युवा क्लवका अध्यक्ष गजेन्द्र योङ्हाङले प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए ।

माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ । प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ५१ बजे