किरात समाचार: आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्बाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
इलाममा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र – २ मा एमालेका नेम्बाङ र गठबन्धनका खड्का चुनावी मैदानमा उत्रिएका छन् ।
०५६ सालदेखि निरन्तर सुवास नेम्बाङ
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामूख सुवास नेम्बाङले बि.स २०५६ सालबाट इलाम क्षेत्र-२ मा जित्दै आइरहेका छन् ।
नेम्बाङले ०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । त्यस्तै गरि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।
दोस्रो संविधानसभा निर्वाचन ०७० मा नेपाली कांग्रेसका भेषराज आचार्यलाई हराउँदै नेम्वाङले जितेका थिए । त्यस्तै ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई दोस्रोपटक पराजित गरेका थिए । नेम्वाङले ३६ हजार ५१७ मत ल्याएका थिए । प्रतिद्वन्दी कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएको थियोे । नेम्बाङले ९ हजार ६ सय ५२ मतले थापालाई हराउदै इलाम क्षेत्र नं २ मा विजयी हासिल गरेका थिए।
नेम्बाङलाई सहज
पाचौं पटक इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र – २ मा सुवासचन्द्र नेम्बाङ चुनाव लड्दैछन् ।
नेकपा एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको प्रतिद्वन्दी ०७४ को निर्वाचनमा प्रदेशमै पराजित नेपाली कांग्रेसका नेता डम्बर खड्कासंग चुनावी प्रतिस्पर्धामा नेम्वाङलाई जीतको लागि सहज देखिन्छ ।
०७४ को निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट इलाम क्षेत्र नम्बर २ को ‘ क ‘मा प्रदेश सभाको उमेद्धवार डम्बर खड्काले ३ हजार ५ सय ८६ मतले पराजित भए । एमाले माओवादी गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ ‘ क ‘मा एमालेका रामबहादुर रानाले १९ हजार ८ सय ३८ मतले बिजयी भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १६ हजार २ सय ८६ मत ल्याएका थिए ।