१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

महागुरु फाल्गुनन्द १३८ औं जन्मजयन्ती संसारभर मनाइदै

किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती मान्ने तरिका



किरात समाचार । बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती शुक्रबार आज संसारभर मनाइदै छ ।

मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्दको कात्तिक २५ गते जन्मजयन्तीको अवसरमा शुक्रबार आज फाल्गुनन्दको १३८ औ जन्मजयन्ती किरात धर्मगुरु गुरुआमाको देव उपस्थितिमा केन्द्रीय समारोह कार्यक्रम ताप्लेजुङको फुङ्लिङ बजारमा भब्यता पूर्वक मनाइदैछ ।

यस्तै महागुरु जन्मजयन्ती नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने गर्दछन ।

यसैगरी विदेशमा भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसि थेगिमले बताए ।

किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती मान्ने तरिका
व्यक्ति तथा परिवारको लागि कात्तिक २५ गते बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको तस्वीर पूज्दै कुलाङताक्मा (चरण स्वागत) गर्ने र वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।

बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।
घरको परिवार भेला भई इच्छा अनुसारको विविध परिकार बनाई खाने, खुशियाली मनाउने, इष्टमित्र छरछिमेकलाई समेत बोलाई खाने, खुवाउने, शुभकामना आदान प्रदान गर्ने, वरिपरी छरछिमेक भेला भई माङसेवा साम्लो (स्तुती गान) गाउने, माङलाङ केलाङ तथा नाचगान गर्ने, मुहिङगुम अङसीमाङका माङइङघङ/माङसिवाखाहुन (दिव्य धार्मिक उपदेश) सुन्ने, सुनाउने।

किरात धार्मिक संघसंस्थाको लागि
कात्तिक २४ गते विश्वशान्ति, मानव एकता तथा चराचर जगत प्राणीको रक्षाको लागि धार्मिक अनुष्ठान (साक्मुरा वादेम्मा र लाधुङसेमी सेवा) माङलाङ केलाङ गर्ने।
कात्तिक २५ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती पर्वलाई औपचारिक कार्यक्रम गरी सम्पन्न गर्ने।
साँझ दीपावली गर्ने।

माङहिमको लागि
कात्तिक २४ गते विश्वशान्ति, मानव एकता तथा चराचर जगत प्राणीको रक्षाको लागि धार्मिक अनुष्ठान (साक्मुरा वादेम्मा र लाधुङसेमी सेवा) गर्ने।

कात्तिक २५ गते बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङको फोटो पूज्दै कुलाङताक्मा (चरण स्वागत) गरी वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।

बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।
माङहिमको प्रमुख माङसेवासाबाले भक्तजनहरुलाई बोलाई प्रसाद वितरण गर्ने, मुहिङगुम अङसीमाङका माङइङघङ/माङसिवाखाहुन (दिव्य धार्मिक उपदेश) सुनाउने, माङसेवा साम्लो (स्तुती गान) गाउने, माङलाङ केलाङ तथा नाचगान गर्ने।                                                                      प्रदेश १ मा सार्वजनिक बिदा                                         प्रदेश १ ले महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : २९ बजे