किरात समाचार । ताप्लेजुङको सिरिजङघा गाउँपालिका -४ तेल्लोकमा त्येअङसी सिरिजङगा सिङथेवेको ३१८ औ जन्मजयन्तीको अवसरमा सिरिजङगा कप दोस्रो संस्करण खेलकुद प्रतियोगिता हुने भएको छ ।
तेल्लोक स्पोर्टिङ क्लव र तेअङसि सिरिजङ्गा स्मृति प्रतिष्ठानको आयोजनामा सिरिजङगा मेला संगै पुरुष फुटबल प्रतियोगिता मंसिर २५ देखि २९ गतेसम्म तेल्लोक माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने टिमलाई रनिङ ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु १ लाख ५१ हजार रुपेयाँ, उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ८१ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याच साथै खेलमा चार विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गर्नेछन ।
फुटबल प्रतियोगितामा जम्मा १० टिमको सहभागि रहनेछ । त्यस्तै सहभागी फुटबल क्लवहरुले मंसिर १० गतेभित्र सम्पर्कमा आई सक्नु पर्नेछ भने विस्तृत खेलको तालिका भने मंसिर १५ गते सार्वजनिक गर्ने आयोजक समितिले जनाइएको छ ।
त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ भने स्थानीय स्तरमा उत्पादित बस्तुहरुको स्टल राखिने र स्थानीय कला संस्कृतिको प्रदर्शनी गरिने क्लबका सचीव रन्जित माबोले बताए ।