किरात समाचार:किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन स्मृति ग्रन्थ ११ वर्षपछि बिक्री वितरण शुरु भएको छ।
२०६७ चैत २१, २२ र २३ गते काठमाण्डौमा आयोजना भएको किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन समापन भएपश्चात यसलाई प्रमुख आधार मानेर किरात धर्मको एक महत्वपूर्ण दस्तावेज प्रकाशन गर्ने तय भएको थियो। यसको निमित्त किरात धर्म तथा साहित्य उत्थान संघका महासचिव डिपी साम्पाङको संयोजकत्वमा प्रकाशन समिति गठन भएको थियो। यस समितिको व्यवस्थापन र प्रकाशनमा संघका उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख माङमिङसोहाङ लिङ्देनको प्रमुख सम्पादनमा विषयगत विभिन्न सम्पादकहरुले कार्य गर्नु भएको थियो। तर, विविध कारणवश यो पूर्वनिर्धारित समयमा प्रकाशित हुन सकेन। तथापि, यसको विमोचन भने २०७१ बैसाक २४ गते समाज सुधार दिवसको अवसरमा माङसेबुङमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालामार्फत भएको थियो।

विमोचन भइसकेको तर विशेषतः आर्थिक अभाव एवं अन्य विविध समस्याका कारण प्रकाशन हुन धेरै वर्षसम्म यो प्रकाशन हुन सकेन। धेरै जनजिब्रोमा झुण्डिएको एवं आशा गरिएको किरात धर्मको एक महत्वपूर्ण एवं गहन दस्तावेजलाई प्रकाशन गर्ने अभिभारा पछिल्लो समय भर्चुअल्ली कनेक्टिङ किरात (भिसिके)ले लिएर अगाडि लियो।
विश्वभरका किरात धर्मावलम्बी एवं शुभचिन्तकहरु भौतिक रुपमा जहाँसुकै रहेपनि भावानात्मक रुपमा समयको माग अनुसार भर्चुअल्ली एक हुनुपर्छ भनेर गठन भएको यस स्वतन्त्र समूहले प्रकाशन गरिदिएको छ। भिसिकेका व्यवस्थापन विभाग प्रमुख एवं किरात धर्म तथा साहित्य उत्थान संघ वेलायतका अध्यक्ष साङदाङगेन वारुमसाबा रामकुमार सिंथेबेको संयोजनमा पहिलो संस्करण प्रकाशन गर्न वेलायत निवासी आशा थोप्रा सिंथेबे, डम्बर खजुम, दुर्गा सिंथेबे, तिलविक्रम लाओती, गोविन्द मादेन, सिता थेबे, गंगा योङहाङ, कल्पना आङबुहाङ, तेजबहादुर मेन्याङबो र हस्तकला थाङदेनको परिवारले सहयोग गरेका छन्। त्यस्तै, हङकङ निवासी शान्ति आङबुहाङ एभेङ र अष्ट्रेलिया निवासी धनबहादुर रुम्दालीको परिवारले पनि सहयोग गरेका छन्।
यस महान कार्यमा सरिक भई ११ वर्षपछि भएपनि यसलाई प्रकाशन गरिदिने रामकुमार सिंथेबेमार्फत भिसिके परिवारलाई प्रकाशन समिति संयोजक डिपी साम्पाङले आभार व्यक्त गरेका छन्। साथै, यस ग्रन्थ सम्पादन गर्ने सम्पादकहरु, लेखकहरु, रचन तथा शुभकामना संकलकहरु साथै परोक्ष रुपमा सहयोग गर्ने सबैलाई समेतलाई समेत धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशन समितिले जानकारी दिए अनुसार यस ग्रन्थ माङसेबुङस्थित किरात धर्मगुरु जन्मोत्सव स्टेजनजिकै रहेको किरात प्रज्ञा प्रतिष्ठानको बिक्री कक्ष, किरात धर्मगुरु निजी आश्रम प्रमुख गेट नजिकै रहेको बिक्री कक्ष र रेडियो माङसेबुङको कार्यालयबाट लिन सकिनेछ। बिक्री वितरण भिसिके प्रतिनिधि एवं रेडियो माङसेबुङका स्टेशन मेनेजर सुमन लाओतीले गरेका छन्।
५ भागमा खण्डिकृत गरिएको यस ग्रन्थको पहिलो भागमा किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन शुरु हुनुअघिदेखि समापनपछिसम्मको गतिविधि, किरात धर्मका संस्था एवं समूहरुहरुको गतिविधिहरु समेटिएका छन्।
दोस्रो भागमा किरात धर्म दर्शनबारे ऐतिहासिक एवं धार्मिक लेखहरुका साथै किरात धर्मका ऐतिहासिक व्यक्तित्वहरुको जीवन परिचय समेटिएका छन्।
तेस्रो भागमा नेपालका विभिन्न जातीय सम्प्रदायको संस्थागत एवं जातीय विवरणका साथै उनीहरुले गरिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरुको विस्तृत जानकारी समेटिएको छ।
चौथो भागमा किरात धर्म र सम्बद्ध संस्थाको महत्वपूर्ण केही दस्तावेज र किरात धर्मसम्बद्ध तस्वीरहरु राखिएका छन्।
पाँचौ भागमा यस ग्रन्थ प्रकाशनार्थ आर्थिक सहयोगदाताहरुको सचित्र विवरण राखिएको छ।
१४४४ पृष्ठको यस ग्रन्थको मूल्य ३ हजार रुपैयाँ रहेको छ।


