किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङको ऐतिहासिक पहिलो प्रतिमा उपराष्टपति नन्दबहादुर पुन (पासाङ)को हस्तबाहुलीबाट अनावरण गरिएको छ ।
आइतबार अङसीमाङ आत्मानन्द सेइङको जन्मोत्सवको अवसरमा अङ्सीमाङले वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ऐतिहासिकस्थल माङसेबुङ ५ भालुटारमा अवस्थित श्री सरस्वती मावि परिसरमा स्थापना गरिएको आत्मानन्द प्रतिमा उपराष्टपति पुनको हस्तबाहुलिबाट अनावरण गरिएको हो ।
अङसीमाङले विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा प्रतिमा स्थापना गर्नको लागि माङसेबुङ निवासी बलबहादुर साङपाङले दिवंगत आफ्नो श्रीमति राना धनमाया साङपाङको स्मृतिमा ३५ लाख रुपैयाँ सौजन्य प्रदान गरी निर्माण गरिएको किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले बताए ।
अङसीमाङले भविष्यवाणी गर्नु भएको ठाउँमा अङसीमाङकै पूर्ण कदको प्रतिमा भविष्यवाणी गर्नुभएको समयको तस्बीरलाई आधार बनाएर करिब ७ फिट अग्लो प्रतिमा स्थापना गरिएको माङगेन्ना अध्यक्ष योङहाङले जनाएको छ ।