किरात समाचार । किरात समुदायको महान् चाड चासोक तङ्नाम विविध कार्यक्रमको साथ धुमधाम मनाइदैछ । पछिल्लो समय स्वदेश तथा विदेशमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइने गारिएको हो ।
यस्तै किरात लिम्बू समुदायको सघन बसोबास रहेको क्षेत्रहरूमा चासोक तङ्नाम पर्वको रूपमा मनाउने गर्दछ । त्यस्तै ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा, काठमाडौ ,चितवन ,ललितपुर विभिन्न स्थानहरुमा तङ्नामको आयोजना गरी मनाइने गरिएको छ ।
त्यस्तै नेपालमा मात्र होइन, हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारत, साइप्रस, सिक्किम, आसाम, वर्मा, भुटान , दक्षिण कोरिया, मलेशिया,अमेरिका,अष्ट्रेलिया,जापान, थाइल्याण्ड लगायत देशमा मनाइने गरिन्छ ।
किरात लिम्बू समुदायको जमघट गरी तङनाम मनाउने गर्दछन । चासोकमा (धान नाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), ताम्भुङचा (वनभोज) माङलाङ, केलाङ, येवालाङ पालम, ख्याली हाक्पारे, साम्लो तथा जातीय साँस्कृतिक झाँकी प्रदर्शनी, तङसीङ अनुष्ठान,सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गरी चासोक तङनाम मनाउने गरिएको छ ।
चासोक के हो?
आफनो खेतवारीमा अन्न छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ । चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा समेत लिने गरेका छन् ।
आफ्नो इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास छ । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल र प्रवधिको प्रदर्शन पनि गरिएको छ । आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नयाँ पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले किरात याक्थुङ चुम्लुङले ०४८ सालदेखि व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालेको हो ।


