१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

कियाचुद्वारा मलिसा र शोभा पुरस्कृत – kiratsamachar



उर्लाबारी । किरात याक्थुङ् चुम्लुङ्ले वितरण गर्दै आएको कियाचु किरात सिरिजङ्गा पुरस्कार र कियाचु उदयकला पुरस्कार यस वर्ष मलिसा याक्थुङबाको लिम्बु निबन्ध संग्रह र अभिनेत्री शोभा खजुमको थत्थामा चलचित्रलाई प्रदान गरिएको छ ।

 

शनिवार कियाचु संघीय समितिको आयोजनामा मोरङ स्थित उर्लावारी आम्बारीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.१ का माननीय प्रदेश प्रमुख परशुराम खापुङ्ले साहित्यकार मलिसा याक्थुङ्बालाई कियाचु किरात सिरिजङगा पुरस्कार र अभिनेत्री शोभा खजुमलाई कियाचु उदय कला पुरस्कार प्रदान गर्नुभएको हो ।


प्रमुख अतिथि माननीय प्रदेश प्रमुखले साहित्यकार याक्थुङ्बालाई २५ हजार नगद सहित कियाचु किरात सिरिजङगा पुरस्कार र अभिनेत्री शोभा खजुमलाई १० हजार सहित कियाचु उदय कला पुरस्कार प्रदान गर्नु भएको हो ।

 

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश प्रमुख खापुङ्ले चासोक तङ्नामको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै हाम्रो देश नेपाल विभिन्न जातजातीको धार्मिक, सांंस्कृतिक, धार्मिक विविधतताले नै मुलुक सुन्दरताले सजिएको कुरा वताउनु भएको छ । वहाँले लिम्बू भाषा साहित्यको सन्दर्भमा किरात सिरिजङगा लिपि र साहित्यलाई उत्थान र विकास गर्दै जाने क्रममा मारिएका शहिद् त्येअङ्सी सिरिजङगा सिं थेबेको योगदानलाई गम्भिर रुपमा सम्मान गर्नु पर्ने बताउनु भयो ।

 

अर्का वक्ता मोरङ् उर्लावारी नगरपालिका प्रमुख गंगा खरेलले आदिवासी जनजाती लिम्बू याक्थुङहरुको महान् पर्व चासोक तङ्नामको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै भाषा लिपिको संरक्षणमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्न सकिने सम्मको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

लिम्बू भाषा साहित्यको उत्थान र विकासको क्रममा लागि रहनु भएका त्येअङ्सी सिरिजङगा सिं थेबेको स्मृतिमा स्थापना गरिएको कियाचु किरात सिरिजङगा पुरस्कार ग्रहण गर्नुहुँदै साहित्यकार मलिसा याक्थुङ्बाले हार्दिक आभार मन्तव्य राख्नुहुँदै लिम्बू भाषालाई नेपालको संविधान व्यवस्था गर्नु भए अनुरुप स्थानीय सरकारले पनि व्यवस्था गरेर सरकारी विद्यालयमा उच्च शिक्षामा पठन पाठन गर्ने व्यवस्था गर्न गराउन अनुरोध गर्नु भएको छ । वहाँले अहिलेका संविधानले व्यवस्था गरेको अनुरुप पनि राज्यले भाषा लिपि साहित्यको विकासमा औपचारिक रुपमा काम गरेन भने लिम्बू याक्थुङ् समाजमा अन्याय हुने कुरा बताउनु भयो ।

कार्यक्रममा चासोक तङ्नाम र तेअङ्सी सिरिजङ्गा सिं थेबेको ३१८औं जन्मजयन्तीको बारेमा सूर्यमान सेरेङ चोेङबाङले राखेका थिए ।

किरात याक्थुङ् चुम्लुङ् संघीय समितिको आयोजनामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले पुरस्कृतद्वय मलिसा याक्थुङ्वा र अभिनेत्री तथा निर्माता शोभा खजुमको जीवन चर्चा गर्नु भएको थियो ।

संघीय अध्यक्ष प्रेम येकतेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार सम्बन्धि विस्तृत जानकारी कियाचु संघीय महासचिव निरन्ती तुम्वापोले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघीय उपाध्यक्ष डा. कमल तिगेलाले राख्नु भएको थियो ।


कियाचु संघीय कार्य समितिको आयोजनामा आयोजित तीन दिने आम्बारी चासोक तङ्नाम ५०८४को समापनको अवसरमा कियाचु उर्लाबारी नगर समितिको व्यवस्थापनमा सम्पन्न गरिएको कार्यक्रम कियाचु उपमहासचिव डा. योगेन्द्र पालुङ्वाले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ०२ बजे