३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

भोलि धनकुटामा माङसवारी हुँदै – kiratsamachar



किरात समाचारः किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनहरुको धनकुटा माङसवार हुने भएको छ।

मंगलबार (भोलि) सागुरीगडी – ५ फुकुदेन,ओडारे धनकुटामा हुने कार्यक्रममा अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनहरुको माङसवारी हुने भएको हो ।

किरात फाल्गुनन्द हाङसाम युमा माङहिम मुल आयोजक समितिको आयोजनामा हुने कार्यक्रमको समुद्घाटन, महागुरु फाल्गुनन्द लिङ्देन शालिक अनावरण, महागुरुको चेला जयमान चवेगुको शालिक अनावरण, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगुको शालिक अनावरण कार्यक्रम, महागुरुले प्रयोग गर्नुभएको कुवाको अनुगमन र ध्वजे डाँडामा महागुरुको शालिक शिलान्यास गर्न अङ्सीमाङ तथा अङ्सीमामाङ सो स्थानमा जाने भएको हो ।

कार्यक्रममा अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनहरुको हवाई मार्ग मार्फत माङसवार हुने किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले बताए ।

सो कार्यक्रम संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।

माङसवारी हुने कार्यक्रमको निम्तो पत्र

किरात धर्म दर्शनदाता, समाज सुधारक, मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनलाई वर्माको पल्टनमा रहँदा नै वहाँको ज्ञानले ओतप्रोत भएर जयमान चवेगु चेला बनिनु भएको थियो। महागुरुले नाम कटाएर पल्टन छोडेर स्वदेश फर्किनु हुँदा जयमान पनि सँगै हुनुहुन्थ्यो। जन्म स्थान र स्थायी निवास धनकुटा डाँडाबजारको बेगानामा भएपनि सागुरीगढी, ओढारे (फुकुदेन) मा वहाँको गोठ थियो। विशेषगरी धनकुटा गौंडा आउने जाने क्रममा यही स्थानमा महागुरु बास बस्ने गर्नुहुन्थ्यो। भेटमा गुरुचेलाबीच भलाकुसारी हुने गथ्र्यो। यो क्रम पटक पटक भएको थियो। यसैवीच वि.सं. १९८५ मा महागुरुकै सल्लाहमा यहाँ किरात फाल्गुनन्द हाङसाम युमा माङहिमको स्थापना भयो। पछिल्लो पटक २००१ भदौमा १५ दिनसम्म महागुरु यहाँ बस्नुभयो, वहाँहरुवीच लामो कुराकानी चल्यो। यो नै वहाँहरु दुबैको निमित्त अन्तिम भेट हुनपुग्यो। र, एकै साल अर्थात् १९४२ मा जन्मनु भएका दुबै जनाको मृत्यु पनि एकै साल अर्थात् २००५ मा हुन पुग्यो।

महागुरु पटक पटक बास बस्नुको साथै वहाँले सेवा गर्नु भएको माङहिम, प्रयोग गर्नु भएको कुवा लगायत विभिन्न माङसामग्रीहरु भएको यस यस पवित्र, धार्मिक एवं ऐतिहासिक स्थलमा महागुरु र वहाँको चेला जयमान चवेगु साथै किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगुको शालिक अनावरण गर्न महागुरुकै उत्तराधिकारी स्वयं मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्यूको माङसवारी हुँदैछ। धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रममा तपाईंलाई हार्दिक निम्तो छ।

कार्यक्रम
२०७९ मंसिर २२ गते बिहीबार :
साक्मुरा वादेम्मा (पटनाली दोभान, सुनसरी)

मंसिर २३ गते शुक्रबार :
लाधुङसेमी सेवा (किरात फाल्गुनन्द हाङसाम युमा माङहिम)

मंसिर २७ गते मंगलबार :
कार्यक्रमको समुद्घाटन, महागुरु फाल्गुनन्द लिङ्देन शालिक अनावरण, महागुरुको चेला जयमान चवेगुको शालिक अनावरण, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगुको शालिक अनावरण कार्यक्रम, महागुरुले प्रयोग गर्नुभएको कुवाको अनुगमन, आशीर्वचन, गुरु गुरुआमामा अभिनन्दन, सम्मानपत्र वितरण र ध्वजे डाँडामा महागुरुको शालिक शिलान्यास।

साँझ १००८ दीप प्रज्वलन, माङलाङ केलाङ र विविध सांस्कृतिक कार्यक्रम लोकप्रीय कलाकार रुक्साना लिम्बु र जेपी नेम्बाङको साथमा धनकुटाका स्थानीय कलाकार डिबी चवेगु, देवेन्द्र चेम्जोङ र सुनिता सन्यकको बेजोड सांस्कृतिक प्रस्तुती रहनेछ।

 

 

 

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  २ : ३७ बजे