किरात समाचार । धनकुटाको सागुरीगडी,ओडारेमा किरात धर्म दर्शन दाता राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देन र चेला जयमान चवेगुको प्रतिमा अनावरण गरिएको छ ।
धनकुटाको सागुरीगडी -५,ओडारेमा महागुरु फाल्गुनन्द एव जयमान चवेगु प्रतिमा अनावरण समारोहको आयोजनामा मंगलबार भएको कार्यक्रममा महागुरु फाल्गुनन्द लिङ्देन, महागुरुको चेला जयमान चवेगु र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगुको शालिक किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनले अनावरण गर्नुभएको हो ।

यसैगरी सागुरीगडी,ओडारेमा प्रतिमा अनावरणसंगै अङ्सीमाङ तथा अङ्सीमामाङहरुबाट धार्मिक पर्यटकीय स्थल ध्वजे डाँडामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको प्रतिमा शिलान्यास गर्नुभएको थियो ।
महागुरु फाल्गुनन्द वर्माको पल्टनमा रहँदा नै जयमान चवेगु चेला बनिनु भएको थियोे । महागुरु धनकुटा गौंडा आउने जाने क्रममा सागुरीगडी ओडारेमा महागुरु बास बस्ने गर्नुहुन्थ्यो । र , महागुरुको सल्लाह अनुसार वि.सं. १९८५ मा किरात फाल्गुनन्द हाङसाम युमा माङहिमको स्थापना गर्नुभयो। र, पटक पटक बास बस्नुको साथै वहाँले सेवा गर्नुहुदा प्रयोग गर्नु भएको कुवा भएकोले यस स्थलमा महागुरु र वहाँको चेला जयमान चवेगुको शालिक स्थापना गरिएको आयोजक समितिका अध्यक्ष जयकुमार चवेगुले बताए ।

कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार राई,गुरु निजी सचिव टंक लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम , गुरु निजी चिकित्सक खगेन्द्र लिङदेन, किरात साम्यो साक्थीम्गेन पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम लगायतको उपस्थिति रहेको थियोे ।
यसैगरी साँझ माङलाङ केलाङ र विविध सांस्कृतिक कार्यक्रम लोकप्रीय कलाकार रुक्साना लिम्बु र जेपी नेम्बाङको साथमा धनकुटाका स्थानीय कलाकार डिबी चवेगु, देवेन्द्र चेम्जोङ र सुनिता सन्यकको साथमा बेजोड सांस्कृतिक कार्यक्रम भएको थियोे ।


