दमक । दमकका पत्रकारजन्य संघसंस्थाका अगुवाहरुले सञ्चार क्षेत्रका माग सम्बोधन गर्ने सम्बन्धमा दमक नगरपालिकाको ध्यानाकर्षण गराउने भएका छन् ।
शनिबार दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न संघसंस्थाहरुको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो ।
पत्रकार मञ्च दमकको समन्वयमा सम्पन्न भेला मा मञ्चका संस्थापक अध्यक्ष गन्जबहादुर दाहाल, प्रेस चौतारीका केन्द्रीय सदस्य टीकाराम उप्रेती, संघीय प्रेस युनियनका अध्यक्ष दिलकुमार लावती, मिडिया नेपालका केन्द्रीय सदस्य सान नेपाललगायतले सञ्चार माध्यमहरुले भोगिरहेका समस्या बारे विषय राखेका थिए ।
त्यस्तै भेलामा चौतारीका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल, मञ्चका पूर्व अध्यक्षहरु कृष्ण कार्की, विष्णु पोख्रेल, गोपाल झापालीलगायतले पत्रकार मञ्च दमक र दमक नगरपालिकाबीच विगतमा भएका सम्झौताहरु जनप्रतिनिधिहरुको आगमनसँगै एकपछि अर्को गर्दै निष्कृय पारिएको धारणा राखेका थिए ।
भेलाले नगरपालिकाले उपलव्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्का भएको , कार्यालय भवन निर्माणका लागि पत्रकार मञ्च दमकलाई उपलव्ध गराइएको जग्गा व्यवस्थापन हुन नसकेको, दमक नगरपालिका र पत्रकार मञ्चबीच सम्झौता गरी वितरण हुँदै आएको दमक विकास पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार रोकिएको र मञ्चको कार्यालय सञ्चालनका लागि नगरपालिकाले उपलव्ध गराउँदै आएको सहयोगसमेत रोक्का भएको बारे दमक नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय भएको मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।
त्यस्तै भेलाले मञ्चसँग असन्तुष्ट समूहसँग आवश्यक छलफल गरेर समस्या समाधानको लागि पहल गर्नेसमेत निर्णय गरेको छ ।
दमक नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत समेतको समय मागेर संयुक्त भेटघाट गर्ने र मञ्चले विगतमा पेस गरेको ज्ञापन पत्रबारे स्मरण गराउने भेलाले निष्कर्ष निकालेको सचिव उमानाथ भण्डारीले बताए ।
पत्रकार मञ्च दमकको अगुवाईमा आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम निर्माणका क्रममा नै दमक नगरपालिकासहित माई पश्चिमका ५ र इलामस्थित चुलाचुली र माङसेबुङ गाउँपालिकामा प्रेसमैत्री नीति निर्माण र स्थानीय सञ्चार संस्थाहरुको प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न माग गर्दै प्रस्ताव पेस गरिएको थियो ।