३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ : स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू



दमक । किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला शाखा समितिले कुसङ् येले तङ्बे तथा कक्फेक्वा तङ्नाम–५०८३ को शुभ–कामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार झापाको विर्तामोड स्थित अतिथि सदनमा आयोजित येले तङ्बे र कक्फेक्वा तङ्नामको शुभ–कामना आदान–प्रदान कार्यक्रममा १ नं. प्रदेश स्वास्थ्य मन्त्री माननीय निर्मला तावा लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

स्वास्थ्य मन्त्री माननीय लिम्बूले आम जनचासोको विषय रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आफू रहेकोले आफ्नो पहिलो कर्तव्य स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टचार, वेथिति र असहजतालाई उन्मुलन गरेर हुन सक्नेसम्म सुधार गर्दै लैजाने काममा लागि परेको र प्रदेश नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने कुरा आफ्नो बटमलाइन भएको बताउनु भयो ।

कार्यक्रममा कियाचु झापा जिल्ला शाखाबाट हस्तान्तरण गरिएको ज्ञापन–पत्र ग्रहण गर्नुहुँदै माननीय मन्त्रीले १ नं. प्रदेशको नामकरण पहिचानको आधारमा नामकरण गर्ने कुरामा आफ्नो पहलककदमी रहने कुरा बताउनुभयो । प्रदेश सांसद भइसकेपछि सदनमा मातृभाषा मान्यता दिलाउन सांसद लोगो समेत लिम्बू/याक्थुङ् भाषामा लेखिएको हुनुपर्ने माग गर्दै आएको प्रष्ट पार्नुभयो । वहाँले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिलाउने कुरामा प्रदेश सरकार र प्रदेश सांसदमा आफ्नो खुबीले भ्याएसम्म पहलकदमी गर्ने, लिम्बू याक्थुङ् भाषामा सपथ ग्रहण गर्दै प्रदेश सदनमा प्रवेश गरेको कुरा स्मरण गराउनुहुँदै माननीय मन्त्रीले आफ्नो मातृभाषा बचाउने अभियानमा सरकारले गर्ने कुरा एउटा महत्वपूर्ण कुरा भएता पनि लिम्बू समुदाय आफै पनि एक भएर निरन्तर रुपमा लागि रहनुपर्ने कुरामा जोड दिनुहुँदै याक्थुङ् समुदायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ पूर्व केन्द्रीय उपाध्यक्ष तथा मुन्धुमी अध्येता, लेखक हरि चोङ्बाङ, कियाचु संघीय सल्लाहकार जीतबहादुर लाओती, जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला अध्यक्ष दिपेनवाला राई, याक्खा छुम्मा झापा जिल्ला अध्यक्ष मच्छिन्द्र याक्खा, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कमल गाउँ कार्य समिति अध्यक्ष दिवस सङबाङफे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा कियाचु झापाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राखेका थिए भने कियाचु झापा जिल्ला सदस्य धर्म लक्सम्बाले कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो । कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।

कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद् दमकले केलाङ् प्रस्तुत गरेका थिए भने कियाचु कमल गाउँपालिका वडा न।ं ३ का अध्यक्ष हिमाल लिम्बुले पालाम प्रस्तुत गरे । कवि विराट किरातीले कविता प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए भने कियाचु विर्तामोडका स्थानीय कलाकारहरुले विशेष नाच प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ०६ बजे