किरात समाचार : १ नम्बर प्रदेशसभाले १ नम्बर प्रदेशको नाम ‘कोशी’ पारित गरेसँगै सुरु भएको आन्दोलन सशक्त बनाउने आन्दोलनकारीहरुले बताएका छन् । प्रदेशको नाम ‘कोशी’ खारेज गरेर पहिचानको आधारमा ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आएको ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले आन्दोलन सशक्त बनाउने तयारीसहित दोस्रो चरणको कार्यक्रम सार्बजानिक गरेको छ ।
पहिलो चरणरको आन्दोलनमा प्रदेशव्यापी चक्काजाम गरेको, राँके जुलुस गरेको, ‘कोशी’ प्रदेश जलाएको, मुख्यमन्त्री र सभामुखको पुत्ला दहन गरेको एवम् प्रदर्शनसहित कोणसभा गरेको संयुक्त संघर्ष समितिले दोस्रो चरणमा तालाबन्दीसहितको कार्यक्रम सार्वजनिक गरेको छ । ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले फाल्गुन २० र २१ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने, २२ गते ताराई क्षेत्रका स्थानीय तहहरुमा कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै फागुन २३ गते पहाडी क्षेत्रका स्थानीय तहहरुमा कालो झण्डा गाड्ने, कोण सभा गर्ने, स्थानीयत तहलगायत कार्यालयमा तालबन्दी गर्ने र २४ गते संघर्ष समितिहरु वडातहसम्म थप शसक्त बनाउने र त्यसपछि आम हड्तालसहितको कडा आन्दोलन घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिमा पहिचान पक्षधर पार्टीहरुसहित सामाजिक संघसंस्थाहरु घटक संगठनका रुपमा रहेका छन् । संघर्ष समितिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस सम्बद्ध लिम्बू संघ, नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल लिम्बू संघ समाजवादी, जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिसहित किरात याक्थुङ चुम्लु, किरात राई यायोक्खालगायत घटक संगठनका रुपमा रहेका छन् ।
प्रदेश नामाकरणको बारेमा प्रदेश सभामा छलफल सुरु भएसँगै प्रदेशसभा भवन विराटनगरबाहिर प्रदेशको नाम पहिचानसहितको राख्न संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।