६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

‘कोशी’ नाम खारेजी आन्दोलनमा घाइते लिम्बुको अवस्था गम्भीर , बी.पी प्रतिष्ठानमा उपचार हुदै



धरान : कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान-१५ का पदम लिम्बु ‘लाजेहाङ’ लाई गम्भीर अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको छ ।

टाउकोमा चोट लागेका उनी हिजो राती अचानक बेहोस भएपछि उपचारार्थ बिपी पुर्‍याइएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताए ।

उनका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनलाई तत्काल आइसियुमा पुर्‍याइयो । चिकित्सकहरूका अनुसार उनको टाउको रगत जमेको छ ।

विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको हो ।

घाइते अवस्थाका उनको घरैमा उपचार भइरहेको थियो । हिजो राती उनलाई बान्ता भएपछि अचानक अचेत अवस्थामा पुगेको बताइएको छ ।

उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर हुन । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको राजनीतिक मोर्चाबाट एक प्रमुख घटक हो । साभार कपुरी न्युजबाट ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ३ : ५८ बजे