६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइतेको भएका पदमको मृत्यु



किरात समाचार  : कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो ।

आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताए । मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए ।

प्रदेश १ पुनः नामाङ्कन समितिले कोशी नाम खारेज गर्न माग गर्दै प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेपछि सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बू घाइते भएका थिए ।

टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने भएकोले होस फर्कने प्रतीक्षा गर्दागर्दै उनको मृत्यु भएको हो ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : ४२ बजे