इलाम: मंगलबारदेखि इलाममा मल्टिमिडिया पत्रकारिता तालिम संचालन हुने भएको छ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जिल्लामा पहिलो पटक चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम संचालन गर्न लागेको हो ।
इलामबाट सञ्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको सातौं वार्षिक उत्सवको अवसरमा तालिम आयोजना गर्न लागिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक राम योङहाङले बताए ।
तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गर्नेद्छन् । तालिम १ वैसाखसम्म सञ्चालन हुनेछ ।
माङसेबुङ र फाकफोकथुम गाउँपालिकासँगको साझेदारिमा हुने तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहनेछ ।
सहभागीलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिभिषण राईले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनेछन् ।
तालिममा पत्रकारलाई अनलाइन पत्रकारितासँगै मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाईनेछ ।
पछिल्लो समय अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गर्न लागिएको सम्पादक योङहाङले बताए ।
तालिम सदरमुकामस्थि फ्रेण्ड्स होटल एण्ड लजको सभाहलमा संचालन हुनेछ ।


