उर्लाबारी । कोशी नाम खारेजीको आन्दोलनरत संगठनका नेताहरुले एमाले युवाहरु दास मनोदृष्टि त्यागेर वैचारिक राजनीतिमा लाग्नु आग्रह गरेका छन् ।
सोमबार मोरङको उर्लाबारी मंगलबारेमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने भएपछि कालो झण्डासहित विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारण सभामा मुख्यमन्त्री कार्की आउने भएपछि पहिचानवादी आन्दोलनरत नेता कार्यकर्ताहरु प्रतिष्ठान छिर्ने सडक कब्जा गरेर कालो झण्डासहित नारा जुलुस गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)ले एमालेले जति विरोध ग¥यो पहिचान पक्षधरहरु अझ बलियो र मजबुद भएर सडकमा आउने बताए । लिङ्देनले कोशी नाम खारेजी नभए प्रदेश सभाको आउने बर्षे अधिवेशन चल्न नदिने ठोकुवा गरे ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले एमाले युवाहरु राजनीतिक दास बन्न नहुने भन्दै सहि विचारको राजनीतिमा लाग्न आग्रह गरेका छन् । बृहत नेपाली शब्द कोषमा कोशी भनेको नदी नभएर कौशिक ऋषि भएको प्रसंग उल्लेख गर्दै यो नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने राईको तर्क थियो । पहिचानको आन्दोलन प्रदेशबासीको शान्ति, संमृद्धि र समाजवादको लागि भएको उल्लेख गर्दै युवाहरु कुनै एउटा नेताले भनेको मान्ने, दिएको खाने दास मनोदृष्टि त्यागेर सहि विचारसहित एमालेमा नयाँ नेतृत्व स्थापित गर्नुपर्ने यायोक्खा उपमहासचिव राईको भनाइ थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिको मुख्यसचिव केदार धिमालले एमाले अध्यक्ष केपी ओलीले प्रदेशको नाम कौशिक गोत्र राखेको बताए । कोशी सप्ताकोसीको पुल दक्षिण भारतमा मात्र बोलिने मुख्यसचिव धिमालको भनाइ थियो । धिमाले पहिचान विरुद्ध बोल्ने एमाले युवाहरु ओलीको अपवित्र पुत्रको संज्ञा दिएका थिए ।
प्रदेश १ पुनः नामाङ्कण संयुक्त संघर्ष समिति मोरङको संयोजक रामभक्त कुरुम्बाङ लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला संघर्ष समितिको तर्फबाट बेदेन्द्र श्रेष्ठ, रुक्मीनि धिमाल लगायतले सम्बोधन गरेका थिए ।
मुख्यमन्त्री हिक्मत कार्कीलाई कार्यक्रम स्थल छिर्ने क्रममा कालो झण्डा प्रदर्शन गर्ने योजना भएपछि कार्की मुख्य सडक प्रयोग नगरी विराटनगरबाट रंगेली, इटहरा, सौठाहुदै सहयाक सडकबाट कार्यक्रम भित्र छिरेका थिए । आन्दोलनरत पक्षले मुख्य सडकमा टायर जलाएरसमेत विरोध प्रदर्शन गरेका थिए ।
करिव दुई सयको संख्यामा रहेका आन्दोलनरक्ष पक्षले मुख्य सडकबाट मदन भण्डारी स्मृति प्रतिष्ठान छिर्ने बाटो कब्जा गर्दै कोशी नाम खारेज गर, कोशी नाम मान्दैनौ, हिक्मत कार्की मुर्दावाद, राष्ट्रिय सहिद लोजेहाङ अमर रहुन लगायतको नारा लगाएका थिए ।