माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई आइतबार सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखा/फाँटबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ९३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ७ जना सेवाग्राहीले प्रत्यक्ष र ६ जन सेवाग्रहीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा रोमियो राई, निर्मला कार्की, जीवन वाङदेल, कमल कार्की, आनन्द राई, जीतबहादुर जोशी र हरी राईले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । त्यस्तै वसन्त लिम्बू योङहाङ, प्रमेश वान्तवा, शुभ इसारा किराती, गिरीराज शंकर, सुमन राई र टिवी केसीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीले सिलाईकटाई तालिम भएको भएपनि जनप्रतिनिधिले पोसाक नलगाएको, कृषिजन्य वीउविजन र मल समयमा नपाइएको, वडा नम्बर २ मा टोल विकास गठन नभएको, जंगली जनावर बाँदरले बालीनाली नष्ट गरिरहेकाले त्यसको नियन्त्रणका लागि पालिकाको पहल हुनुपर्ने, शिक्षामा गुणस्तर वृद्धि गरिनुपर्ने, विद्यालय व्यवस्थापन समितिमा दक्ष र योग्य व्यक्ति राख्नुपर्ने, विज्ञलाई शिक्षा समितिमा राख्नुपर्ने, अनुगमन कार्यलाई प्रभावकारी बनाइनुपर्ने, सूचना प्रकाशन र प्रशारणलाई प्रभावकारी बनाइनुपर्ने, अनुदान कार्यलाई प्रभावकारी बनाइनुपर्ने, पर्यटन, कृषि र पशु क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने, आदिवासी जनजाति समन्वय समितलाई पूर्णता दिनुपर्नेलगायत सुझाव राखेका छन् ।
त्यस्तै योजना अनुगमनमा स्थानीयलाई समेत समावेश गरिनुपर्ने, माङसेबुङले स्थायी प्रकाशनिक संरचना बनाउनुपर्ने, स्वच्छ खानेपानीको व्यवस्था गरिनुपर्नेलगायतका सुझावहरु राखेका छन् ।
सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान र २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सन्दिप लामिछाने, कृषि विकास शाखाका कृषि अधिकृत सुरज अधिकारीलगायतले दिएका थिए ।
उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष राईले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई सरोकारवालाहरुसँग छलफल गरेर आगामी गाउँसभाबाट समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उपाध्यक्ष नेम्बाङले सेवाग्राहीहरुको सुझावलाई अनुसरण गरेर अगाडी बढिने बताए । प्रमुख प्रशासकीय अधिकृत चौहानले जनताका यस्तै गुनासो र सुझावहरु संकलन गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताउँदै आएका सुझावहरु कार्यालयले आगामी दिनमा सम्बोधन गर्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । बहिर्गमन अभिमतबाट गाउँपालिकाको हरेक गतिविधि पारदर्शी हुनुपर्ने, सूचना पाटी सबैले देख्ने र बुझ्ने गरी राख्नुपर्ने, सामाजिक सुरक्षाभत्ता घरघरमा पुर्याइदिनुपर्ने, योजनाका कामहरु समावेशी बनाइनुपर्ने, दरबन्दी अनुसार कर्मचारी व्यवस्था गनुपर्ने, कृषि विकास शाखाको कार्यक्रम प्रभावकारी बनाइनुपर्ने, स्वास्थ्य चौकीमा आवश्यकताअनुसारको कर्मचारी र औषधिको व्यवस्थापन गरी सेवा गर्नुपर्नेलगायतका सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।
Nayabulanda.com