२ असार २०८२, सोमबार | Mon Jun 16 2025

सप्तकोसीको पानी धरान ल्याउन मेयर साम्पाङको नेतृत्वमा समिति गठन



बिराटनगर । सरकारको आगामी वर्षको बजेटमा सप्तकोसीको खानेपानी धरान ल्याउने योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले समिति गठन गरेको छ।

उपमहानगरको बिहीबार बसेको कार्यपालिका बैठकले मेयर हर्क साम्पाङको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको सदस्यहरूमा वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले र वडा ४ का अध्यक्ष धनबहादुर कुलुङ राईलाई बैठकले चयन गरेको छ। यो समितिले छिमेकी बराह क्षेत्र नगरपालिका र अन्य निकायहरूमा सप्तकोसीको खानेपानी धरान ल्याउनको लागि आवश्यक समन्वय तथा पहल गर्नेछ।

खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले सप्तकोशीबाट पानी ल्याउने गरी डिपिआर तयार गरिरहेको छ।
धरान उपमहानगरको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउनुपर्ने मेयर साम्पाङको पहिलो चुनावी एजेण्डा थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १ : ०० बजे