२ असार २०८१, शनिबार | Sat Jun 15 2024

इलाम र झापाका ५४ परिवार भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण



दमक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् ।

इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई बुधबार जग्गाधनी लालपुर्जा प्रदान गरिन् । दुई छुट्टाछुट्टै कार्यक्रममा इलामको चुलाचुली गाउँपालिकाका २५ परिवार र झापाको कन्काई नगरपालिकाका–२९ जनाले पुर्जा पाएका हुन् ।

मन्त्री श्रेष्ठले लामो समयदेखि सुकुम्वासी भएर बसेकाहरुलाई आफु मन्त्री बनेपछि प्राविधिक काम सकेर पहिलोपटक भूमिहिनहरुलाई पुर्जा बितरण सुरु गरेको बताउँदै अब देशभर यो अभियान सुरु गर्ने उनले बताइन् ।

 

‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्वासीहरु हुनुहुन्छ, उहाँहरुको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरुलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरुलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिंदैछ । आजदेखि औपचारिक रुपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’

भूमिहीन दलित सुकुम्वासीहरुलाई भूमिमाथिको पहुँच पु¥याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको मन्त्री श्रेष्ठले बताइन् । इलामको चुलाचुली गाउँपालिका र झापाको कन्काई नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरि भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नहेन्द्रं खड्का, स्थानीय तहका प्रमुखहरु र राजनैतिक दलका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ३ : ४६ बजे