१० असार २०८१, आइतबार | Sun Jun 23 2024

हेवा खोलाको बेलिब्रिज १५ दिनमा सम्पन्न हुने



काठमाडौं । मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ ।

यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी राजमार्गका पुल बगाएको हो । तीमध्ये तमोर करिडोरमा बेलिब्रिज थियो भने मेची राजमार्ग र मध्यपहाडी एउटा÷एउटा पुल बगाएको छ । उहाँले भन्नुभयो, “त्योमध्ये पनि धेरैलाई प्रभावित गर्ने भएकाले मेचीको पुल सबैभन्दा पहिले सुरु गरिएको छ ।”

मेची राजमार्गमा बेलिब्रिज निर्माणको काम बाढी आएको भोलिपल्टबाट नै सुरु भएको थियो । एकातिर जग (फाउण्डेसन) तयारी भइरहेको छ । अर्कोतिर बेलिब्रिज पनि फिट गर्दै गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तयारी अवस्थामा रहेको बेलिब्रिजका भाग जोड्नका लागि जग आवश्यक हुन्छ ।”

बेलिब्रिजका लागि दुवै किनारामा जग राख्नुपर्नेमा एकातिर सम्पन्न भइसकेको उपमहानिर्देशक पोखरेलले बताउनुभयो । वारि जग हालेपछि पारिपट्टि टेकाउने काम हुनेछ । उहाँले भन्नुभयो, “यहाँ पुगेर काम गर्नेहरूसँग कुरा गर्दा १५ दिनमा सकिन्छ भन्नुभएको छ ।” अहिले पनि नदी ठूलो भएकाले सामान वारपार गर्न गाह्रो अवस्था रहेको सडक विभागले जनाएको छ ।

चिन्तन खबर

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ५० बजे