२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

माङसेबुङको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न



इलाम । इलामको माङसेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई शुक्रबार गाउँपालिका कार्यालयको प्राङ्गण इभाङमा    भएको छ ।

गाउँपालिकाको कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत भएको थियो ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गरेको थियो ।

त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ३४ बजे