२ असार २०८२, सोमबार | Mon Jun 16 2025

राजकीय सम्मानकासाथ सीता दाहालको अन्त्येष्टि गरिने



इलाम । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहाललाई राजकीय  सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ।

बुधबार आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारले जारी हरेको शोक वक्तव्यमा भनिएको छ , ‘ वि.सं‌. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।’
त्यस्तै ‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ।’
दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

काठमाडौको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ८ बजे  निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : १३ बजे