मोरङ । बेलबारीस्थित बिराटचौक बजारमा पहिचान पक्षधरहरुले कोशी नाम विरुद्ध नारा जुलुससहित बिरोध प्रदर्शन गरेको छ । शनिबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङद्वारा बिराटचोक बजारमा बिरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा कोशी प्रदेश नाम मान्दैनौ, कोशी नाम खारेज गर, पहिचानको आधारमा पुनः नामाकरण गर लगायतको नारासहित बिराटचोक परिक्रमा गर्दै नगरपालिकाको गेट नजिक आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कथित विश्लेष्कहरु निस्केको भन्दै कोशीलाई खुसी र नदी भन्ने गरेको भन्दै चेतावनी दिएका थिए ।
यस्तै जसपा लिम्बुवान समितिको मुख्यसचिव केदार धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मोरङ जिल्ला उपाध्यक्ष बिशाल विश्वकर्मा, संयुक्त संघर्ष समितिको जिल्ला सचिव जयराज केरुङ लिम्बू लगायतले सम्बोधन गरेका थिए ।
सुन्दरहरैचास्थित जेसीज भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवा कार्यकर्ता भेला राखेको थियो । कार्यक्रममा राप्रपाबाट चुनाव जितेर प्रदेशको पूर्ब मन्त्री समेत रहेका सभा सदस्य भक्तिप्रसाद सिटौला आउने अनुमान गर्दै पहिचानवादीहरु बिराटचोकमा जम्मा भएका थिए ।
कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु आएपछि भक्तिप्रसाद सिटौला नआएको र गेट, ब्यानरहरुमा कोशी शब्द प्रयोग नगरेको भन्दै कोण सभामा बोल्ने बक्ताहरुले धन्यवाद दिएका हुन् । बक्ताहरुले एमाले, कांग्रेस, माओवादी लगायतका पार्टी, संघ, संगठनहरुलाई समेत कार्यक्रम गर्दा कोशी प्रदेश शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।