६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कोशी नामकरणको बिरोध गर्दै बिर्तामोडमा सडकमै मनाए सिसेक्पा तङ्नाम



झापा । किरात समुदायले अनिकाल खेदाउने सहकाल भित्रयाउने मौलिक चाडकोरुपमा सिसेक्पा तङनाम ( साउने संक्राती) मनाउने गर्दछन् । आज अर्थात साउन १ गते घरको ढोका माथि विभिन्न फलफुल खुर्सानी,पिपलको पात, मकै आदि बाबियोको डोरीमा बाधेर झुन्ड्याउने गरिन्छ । मिठोमसिनो खाएर साझमा दियालो बालेर नाङलो ठटाउदै घरको कुनाकाप्चाबाट अनिकाल जाओस सहकाल आओस भन्दै घरआगनको परपरसम्म नाङलो ठटाउदै अगुल्ठो मिल्काएर अनिकाल खेदाउने परम्पराकोरुपमा मान्दै आइरहेको मौलिक चाड (सिसेक्पा तङनाम ) यसपटक आन्दोलनकोरूपमा  झापाको बिर्तामोडस्थित मुक्तिचोकमा प्रदेशको नाम कोशी खारेजीको माग गर्दै मनाएको छ ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोड , कियाचु नगर शाखा अर्जुनधाराको संयुक्त आयोजनामा सोमबार  विर्तामोडको मुक्तिचोकमा कोशी नामाकरणको विरुद्ध पहिचान पक्षधरहरुले सडकमै सिसेक्पा तङ्नाम मनाएको हो ।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौ, प्रदेशको नाम पहिचानको आधारमा पुन नामकरण गर जस्ता नाराबाजी गदै विर्तामोड बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभा गरेको थियो ।

कोणसभामा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले सिसेक्पा तङनामको अवसरमा सुख,शान्ति तथा समृदीको शुभकामना व्यत्त गरे । उनले भने,’आदिबासी जनजातीहरुले घरघरमा मान्दै आएको चाड सडकमा निकाल्न बाध्यता भयो ।’ चाडपर्वमा रमाइरहदा पनि अधिकारको आहवान गर्न हक अधिकार र पहिचानको कुरा गुन्जाउन सडकमै आउनुपर्ने परिस्थिती शासकहरुले बनाएको आरोप लगाए ।’

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च वरिष्ठ उपाध्यक्ष ज्ञानु इम्बुङले विभिन्न व्यवस्था ढलेपनि केहि परिवर्तन नआएको बताए । उनले भने, ‘यहाँ आदिबासी जनजातिहरुले पाउनुपर्ने अधिकार नपाएको बताउदै एकल जातिय ब्राह्मण सत्ता नढलेसम्म पन्चायत, रााणाशासन , राजतन्त्र अन्त भएपनि अब एउटै ब्राह्मण तन्त्रलाई  यहि आन्दोलनले ढाल्ने घोषणा गरे ।’

कार्यत्रमको प्रमुख अतिथि समेत रहेका नेपाल आदिबासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष  , प्रदेश न. १ पुन: नामङकन संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक पाण्डवलाल चौधरीले सम्बोधनको क्रममा पहिचान र संस्कृति बचाउन आन्दोलन गरेको बताउदै आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा झापाको विभिन्न ठाउँबाट  बिर्तामोडको मुक्तिचोकमा भेला भएका पहिचानवादीहरुले आ-आफ्नो जातिय पोशाकमा सजिएर माङलाङ,केलाङ,लि:तोङ,येबालाङ, साकेला,पालाम गाएर नाचेर  प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै कोशी नामकरण विरुद्ध सिसेक्पा तङनाम भव्यतापूर्वक मनाए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ४९ बजे