१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको सालिक तोडफोड गर्नेलाई कानुनी कार्वाही गर्न संघको माग



माङसेबुङ । फेदेन नगरपालिका वडा नं १० खलंगाटारस्थित निर्माण गरिएको राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको पुर्ण कदको सालिक तोडफोड गर्नेलाई कानुनी कार्वाही गर्न किरात धर्म तथा साहित्य उत्थान संघले माग गरेको छ ।

फेदेनको खलंगाटारस्थित निर्माण गरिएको सालिक विहिबार विहान महागुरूको दाहिने हात र त्रिशूल भाँचेको अबस्थामा पाइएकोले शुक्रबार संघले विज्ञप्ती जारी गर्दै दोषीलाई कार्वाही गर्न माग गरेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गते बिहान कुनै अमुक अपराधी वा आपराधिक समूहले महागुरूको दाहिने हात र त्रिशूल जबर्जस्त भाँचेको अबस्थामा पाइएको कारण किरात धर्मावलम्बी एवं उहाँका समस्त अनुयायीहरूको भावनात्मक चोट लाग्नका साथै गम्भीर ध्यानाकर्षण भएको छ ।’

महागुरू फाल्गुनन्दको अध्यात्मिक एवं दार्शनिक चिन्तनले आज दिनानुदिन अनुयायी विश्वभरी बढ्दो क्रममा र महागुरूको सम्मानमा यत्रतत्र सालिकहरू निर्माण हुने क्रम बढिरहेको भन्दै विज्ञप्तिमा थप लेखिएको छ, ‘नेपाल सरकार नै राष्ट्रिय विभूतिको संरक्षक भएको र संविधानको प्रस्तावनाको भावना विपरित कार्य भएको हुँदा संविधानको धारा ४, मुलुकी अपराध संहिता २०७४ को दफा १५२, १५५ र १५६ बमोजिम नेपाल सरकारमार्फत तदारूकता साथ दोषीलाई खोजी गरी पत्ता लगाई कार्वाही प्रक्रिया अघि बढाउन आग्रहका साथ यो विज्ञप्ति जारी गरिएको छ ।’

किरात धर्मदर्शनदाता, विश्व शान्ति तथा मानव एकताको सम्वाहक समाज सुधारक राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङदेनको पुर्ण कदको सालिक फेदेन नगरपालिकाको समन्वय र सहयोगमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : ४४ बजे