२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

किरात धार्मिक संस्थाद्धारा अग्नी पीडित परिवारलाई सहयोग



माङ्सेवुङ । अग्नी पीडित परिवारलाई भनि संकलन गरिएको सहयोग रकम किरात धार्मिक संस्थाले पीडित घर परिवारलाई हस्तान्तरण गरेको छ । किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति झापाको संयोजनमा संकलन गरिएको नगद १ लाख ४३ हजार ४२५ रकम र तीन क्विन्टल चामल सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग वितरणमा किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्य समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघका झापा जिल्ला अध्यक्ष लक्ष्मीकुमार योङहाङ, सह सचिव हर्क येक्तेन, दमक नगर अध्यक्ष बुद्धिमान तुम्रोक, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्य सुमन लाओती, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका पूर्व सचिव नन्दकुमार नेम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष शंकर केरुङ लगायतको उपस्थिती थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्य समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले पीडित परिवारलाई नगद हस्तान्तरण गर्नु भएको थियो । सहयोग हस्तान्तरण गर्दै अध्यक्ष थेगिमले थप विभिन्न जिल्लाबाट अझै पनि सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी किरात धार्मिक सांस्कृतिक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पदाधिकारी तथा सदस्यहरुबाट सहयोग संकलन गरी २० हजार ५८५ रुपैयाँ बराबरको भाडावर्तन (जिन्सि समान) हस्तान्तर गरिएको छ ।सोही रकमले खरिद गरिएको प्रेसर कुकर ७ वटा, कराइ ७ वटा, चकिङबोर्ड ७ वटा, चक्कु ७ वटा पीडित परिवारलाई हस्तान्तरण गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताउनु भयो ।स्थानीय हर्कबहादुर चेम्जोङ, नरहाङ लाओती, लोकबहादुर लाओती, विष्णुबहादुर राई, माङगेना सम्बाहाम्फे, सन्चमाय लिम्बू र पदम इवाको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

इलाम जिल्ला माङ्सेवुङ गाउँपालिका वडा नं ५ (माङ्मिकतोक्ला–बाह्रलाखे) टोलमा गत असार ११ गते करीब राती २ बजे मध्यरातमा विद्युत सट भइ आगलागि भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २२ बजे