माङसेबुङ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले भोलि साउन २२ गते सोमबार लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेको छ । ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित प्रदेश १ पुनःनामाङ्कन गर्न दवाब स्वरुप साउन २२ गते सोमवार एकदिने बन्दको घोषणा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले जानकारी दिए ।
लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान प्रदेश नम्बर एक पुनःनामाङ्कन आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको अध्यक्ष पालुङ्वाले बताए ।त्यस्तै छ घटकले बन्दको लागि अपिल जारी गरेर प्रदेशवासीलाई आ–आफ्नो ठाउँबाट साथ–समर्थन र सहयोग गरिदिन अपिलसमेत गरेको छ ।
बन्द आह्वान गर्ने छ घटकहरूमा जनमुक्तिसहित सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय मोर्चा, लोसपानिकट लिम्बुवान राष्ट्रिय समिति, किरात खम्बुवान राज्य परिषद, किरात लिम्बुवान राज्य परिषद छन् ।
छ घटकद्वारा साउन २२ लिम्बुवान बदको अपिल यस्तो छ :
आदरणीय जनसमुदाय,
वि.स. १८१४ साल श्रावण १८ गते लिम्बुवान र गोर्खा बिच भएको ताम्रपत्र सन्धिलाई लत्याउँदै वि.स. १८३१ साल श्रावण २२ गते धोकापूर्ण लालमोहर सन्धि मार्फत लिम्बुवान राज्यलाई बृहत नेपालमा गाभियो । यो सन्धि धोकापूर्ण भएको ठहर गर्दै तत्काल ३२००० निम्बुहरुले लिम्बुवान राज्य खोसिएको उक्त दिनको विरोधमा विद्रोह गर्दै रुदै लिम्बुवान छाडेर अन्य देश पलायन भए । साँच्चै नै यो सन्धि धोकापूर्ण थियो। यो सन्धिले लिम्बुवानलाई सधै सधैंका लागि अन्धकार युगमा धकेल्यो । यहाँको भाषा, लिपी, संस्कार, इतिहास, धर्म र सभ्यता माथि भयर डर लाग्दो गरी अतिक्रमण शुरु गरियो। लगातारको लामो कान्ति पछि २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनपछि बनेको ६०१ सदस्यीय संविधान सभाले पनि लिम्बुवान राज्य घोषणा नगर्ने भएपछि २०६६ सालको श्रावण २२ गते लिम्बुवान गुमेको दिनको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा लगातार निम्बुवान वन्द हुँदै आएको छ । ऐतिहासिक पृष्ठभूमिका आधारमा अरुण पूर्व लिम्बुवान राज्य घोषणा नभएसम्म, हरेक वर्षको श्रावण २२ गते गरिने लिम्बुवान बन्द निरन्तर जारी रहनेछ । लिम्बुवान राज्य घोषणा गराउन दबाब दिन, नेपाल सरकार र संघिय लिम्बुवान राज्य परिषद विच भएको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्न र प्रदेश नं. १ को नाम कोशी खारेज गराउनका लागि २०६० श्रावण २२ गते आव्हान गरिएको एक दिने शान्तिपुर्ण लिम्बुवान बन्द कार्यक्रम सफल बनाउन सम्पूर्ण लिम्बुवानबासी जनसमुदायमा हार्दिक आव्हान गर्न चाहान्छौं । बन्दको दिन एम्बुलेन्स, कुटनीतिक नियोगको गाडी, प्रेसको गाडी, मलामी बोकेको गाडी, परिक्षार्थी बोकेको गाडी बाहेक अन्य सम्पुर्ण बजार, यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग बन्द रहने जानकारी गराउन चाहन्छौं । यदि कसैले बन्दको उल्लङ्घन गरेमा हुन सक्ने सम्भावित क्षतिको जिम्मेवारी उल्लघनकर्ता स्वयम्ले नै लिनुपर्ने पनि यसै अपिल मार्फत् स्पष्ट पार्न चाहन्छौ ।
आव्हानकर्ता
राष्ट्रिय जनमुक्ति पार्टी
संघिय लिम्बुवान पार्टी नेपाल संघिय खम्बुवान लोकतान्त्रिक पार्टी लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.) किराँत खम्बुवान राज्य परिषद किराँत लिम्बुवान राज्य परिषद लिम्बुवान राष्ट्रिय मोर्चा