दमक किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवस झापामा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय भएको छ ।
किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा र नगर, गाउँ शाखाको गत साउन २० गते विर्तामोड नगरपालिका वडा नं. १ सिरिजङगा चौकस्थित जिल्ला चुम्लुङहिममा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
३५औं चुम्लुङ स्थापना दिवस सम्पन्न गराउन किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको संयोजकत्वमा दुई हजार एक सय एक सदस्यीय जिल्ला स्तरीय आयोजक समिति गठन गरिएको छ । त्यसैगरी संघीय सल्लाहकार तुत्तु जितबहादुर लाओतीको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति समेत बैठकले निर्णय गरेको कुरा चुम्लुङ सचिवालयले जनाएको छ ।
सल्लाहकार समितिमा संघीय सल्लाहकार, संघीय सदस्य, राष्ट्रिय चुम्लुङ सदस्य, प्रदेश सल्लाहकार, प्रदेश सदस्य, संरक्षक सदस्य, विशिष्ठ सरक्षक सदस्य लगायत चुम्लुङमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू रहनेछन् भने आयोजक समिति सदस्यहरूमा जिल्ला पदाधिकारी, सदस्य, नगर र गाउँ पदाधिकारी, सदस्यहरू, वडा पदाधिकारी, सदस्य एवम् चुम्लुङप्रति समर्पित आजीवन सदस्यहरू लगायत शुभेच्छुकहरू रहनेछन् ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न, गराउन जिल्ला शाखा कोषाध्यक्ष धिरावती लिम्बूको सयोजकत्वमा जिल्ला सह–सचिवद्वय शर्ण लोवा र सर्मिला आङ्देम्बे लगायत नगर र गाउँ अध्यक्षहरू सदस्य रहने गरि आर्थिक उप–समिति रहने समेत निर्णय गरिएको जानकारी गराइएको छ ।
साप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउनको निमित्त जिल्ला स्तरीय केलाङ् प्रतियोगिताको आयोजना गरिनेछ । प्रत्येक नगर र गाउँ शाखाबाट एक–एक टिम सहभागी गराइने केलाङ् प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित प्रमाण पत्र प्रदान गर्ने समेत बैठकले निर्णय गरेको छ ।
साप्ताहिक कार्यक्रमको रूपरेखा यसरी बैठकद्वारा तर्जुमा गरिएको छ ।
१. झापा पुर्व क्षेत्रमा
मिति : २०८० साल भदौ १२ गते कियाचु भवन, मेचीनगर, झापा
२. झापा दक्षिण क्षेत्रमा
मिति : २०८० साल भदौ १३ गते कमल गाउँ पालिका वडा नं। ३, केर्खा बजारको खेलमैदान ।
३. मिति २०८० साल भदौ १४ गते चन्द्रगढी भद्रपुर, झापा ।
४. मिति २०८० साल भदौ १५ गते विर्तामोड नगर पालिका वडा नं. १ सिरिजङगा चौकस्थित जिल्ला चुम्लुङहिमा साहित्य गोष्ठी
५. मिति २०८० भदौ १६ र १७ गते विर्तामोड सिटी सेण्टरस्थित साई पार्टी प्यालेसमा केलाङ् प्रतियोगिता र मूल समारोह आयोजना ।
किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय चुम्लुङ सदस्यतहरू जनबहादुर चवेगु, गुमानसिङ् सम्बाहाङ्फे, शिवकुमार मेन्याङ्वो, महेन्द्र लाओती, जिल्ला सल्लाहकारद्वय क्या. जगनधोज वनेम, सूर्यप्रसाद यक्पाहाङदेन, अर्जुनधारा नगरपालिका वडा न. ११ का वडा अध्यक्ष खगेन्द्र इङ्नाम, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, जिल्ला पदाधिकारी, सदस्य, कियाचु शिवसताक्षी नगर अध्यक्ष बीरबल चवेगु, कियाचु कनकाई नगर शाखा अध्यक्ष प्रेम फोम्बो, मेचीनगर नगर अध्यक्ष धनप्रसाद केरूङ, अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मु, भद्रपुर नगर अध्यक्ष मुना इजम, बाह्रदशी गाउँ अध्यक्ष केशव लिवाङ् लगायत नगर, गाउँका अन्य पदाधिकारी र सदस्यहरू समेत व्यापक उपस्थिति रहेको थियो ।
बैठकले अन्य विविध विषयमा छलफल गरि यहि साउन २४ गते मनाइने विश्व आदिवासी दिवसको दिन यसवर्ष कमल गाउँ पालिका वडा नं. ५ स्थित पाडाजुँगीमा मनाउने नेपाल आदिवासी जनजाति महासंघ झापाको आव्हानलाई अक्षरस पालना गर्दै किरात याक्थुङ चुम्लुङका नगर र गाउँ शाखालाई भेला भइदिनको लागि आव्हान गर्ने समेत निर्णय भएको आयोजक संस्था नेफिनले जनाएको छ ।