४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

झापामा भदौ ३० गते पहिचानको लागि युवा गठन हुने



दमक । झापा जिल्लामा पहिचानको लागि युवा दस्ता गठन गरि यहि भदौ ३० गते विर्तामोडमा व्यापक कार्यक्रमकाबिच घोषणा गरिने भएको छ ।

प्रदेश न. १ पुनः नामाङ्न संयुक्त संघर्ष समिति झापाको आयोजनामा सनिवार विर्तामोडस्थित आदर्श ब्याङ्क्वैटको सभाहलमा बसेको जिल्ला, नगर र गाउँ संयुक्त संघर्ष समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

करिव १ हजार ५ सय हाराहारीको जमातमा गठन हुने पहिचानको लागि युवा दस्ताले प्रदेशको नाम कोशी खारेजी र प्रदेशको नाम पुनः नामकरणको विषयमा शक्ति संगठनको रुपमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । यसको अलावा पहिचानको लागि युवाले समाजमा व्याप्त विकृति, विसंगती, भ्रष्टचारको बिरुद्धमा जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आदिवासी जनजाति हक, अधिकार सुनिश्चितताको लागि अग्रभागमा रहेर आन्दोलन गर्ने कार्य समेत गर्नेगरि व्यवस्थापन गर्न लागिएको बैठकमा उपस्थित पहिचानवादी नेता, कार्यकर्ताहरुले जनाएका छन् ।

बैठकले पहिचानका लागि युवा जिल्लाव्यापी रुपमा गठन गर्ने निर्णय गर्दै यहि भदौ २० गतेभित्र झापा जिल्लाभित्रका प्रत्येक नगर र गाउँ संघर्ष समितिले आफ्नो मातहतमा रहनेगरी पहिचानको लागि युवा दस्ता गठन गरी जिल्ला सचिवालयमा अभिलेखिकरणको लागि पेश गरिसक्नेगरी प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष नगर, गउँ समितिलाई परिपत्र गर्ने समेत निर्णय गरेको जनाइएको छ ।

झापा जिल्लाभित्रका १५ वटा स्थानीय निकायमा गठन भएका नगर, गाउँ स्तरीय संघर्ष समिति र वडा संघर्ष समितिहरुलाई पहिचानी, राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक पक्ष लगायत मानवी संसाधनको पक्षमा सक्रिय र सशक्त बनाउँदै लैजाने अत्यन्तै प्रभावकारी कार्यक्रम आयोजना गर्दै जाने समेत निर्णय गरिएको बैठकमा सहभागिहरुले बताएका छन् ।

प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको अध्यक्षतामा बसेको बैडकमा समितिका सह–संयोजक तथा लिम्बुवान राष्ट्रिय मूक्ति मोर्चा झापा अध्यक्ष जनबहादुर जवेगु, सह–संयोजक तथा किरात राई यायोख्खा झापा अध्यक्ष गणेश राई, सह–संयोजक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापा अध्यक्ष राजा आङ्थुप्पो, राष्ट्रिय जनमूक्ति पार्टी ६ घटकका प्रतिनिधि इन्दिरा द्यौराली, नागरिक उन्मुकित पार्टी प्रतिनिधि रञ्जित राई, विकाश लिम्बू, भू.पू सैनिक परिचालन संयन्त्र संयोजक तथा किरात राई यायोख्खा झापा सल्लाहकार समर राई, युवा परिचालन संयोजक सामी पालुङ्वा, मिडिया परिचालन संयोजक गौरीमान राई, अर्थ संयोजक शर्मिला आङ्देम्बे, अर्जुनधारा संघर्ष समिति संयोजक येहाङ् लाबुङ्, हल्दिवारी संघर्ष समिति उपाध्यक्ष चन्द्रबहादुर मगर, दमक संघर्ष समितिका सदस्य सचिव लासाहाङ् निङ्लेकु र टंक माङ्लाक, आन्दोलनमा घाइते हुनुभएका कमल–३, निवासी योद्धा नरेन हाङ् लिम्बू र पक्राउ परेकी दमक निवासी बन्दना नेम्बाङ् लगायतको व्यापक उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित जिल्ला, नगर र गाउँ तहका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै संघर्ष समिति सदस्य सचिव तथा किरात याक्थुङ् चुम्लुङ् झापा अध्यक्ष सेसेहाङ् फियाक लिम्बूले बैठक सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ५२ बजे