३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

किरात धार्मिक संस्थाहरुले वातावरणीय (IEE) प्रभाव बारे माइ नगरपालिकालाई बुझायो सुझाव पत्र



माङ्सेबुङ । किरात धार्मिक संस्थाहरुले नदिजन्य पदार्थ तथा जल, जमिन र जंगल संरक्षण सम्बद्र्धनका लागि माइ नगरपालिकालाई सुझाव पत्र बुझाएका छन् ।

माइ नगरपालिकाले तयार पार्ने प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) र वातावरणीय प्रभाव मुल्याङकन (ईआईए) का बारेमा किरात धार्मिक संस्थाका टोली संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले माई नपाका मेयर खम्बासिं लिम्बूलाई सो सुझाव पत्र पेश गरेको हो ।

किरात धर्मावलम्बीहरु साथै अन्य समुदायहरुले समेत परापूर्व कालदेखि मानीपूजी ल्याएको युमा यङघङ (माई ठकुरानी देवी) साक्षत युमामाङ माइखोलामा महागुरु फाल्गुनन्द लिङदेनको ज्ञानभूमि खत्रक्पा, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगी जस्तो ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल रहेको साथै माइ नगरपालिकाको वडा नं. ६, ७ र ८ मा दर्जनौं किरात धार्मिक तीर्थस्थलहरु रहेको सुझाव पत्रमा उल्लेख गरिएको छ ।

सुझाव पत्रका लेखिएको छ, ‘ठेक्का मार्फत माथि उल्लेखित माई खोला र आसपासको चुरेबाट बगिआउने नदिहरु समेतमा नदिजन्य पदार्थ, संकलन, उत्खनन्, प्रशोधन र निकासी विक्री वितरणमा रोक लगाई यस इलाम जिल्लाकै प्राकृतिक सौन्दर्यता र अमूल्य प्राकृतिक स्रोत साधन र खनिज पदार्थको संरक्षण सम्बद्र्धन गर्नु हुन अनुरोध छ ।’

पत्रका लेखिएको छ, ‘खत्रक्पादेखि लोदिया दोभानसम्म किरात धर्मगुरुको कार्ययोजना क्षेत्र रहेकोले यस क्षेत्रभित्र नगरपालिकाले योजना तर्जुमा गर्दा सम्बन्धित सरोकारवाला संघ संस्थाहरुसँग संयोजन, सहकार्य गर्दै, यहाँका पवित्र धार्मिकस्थल, ज्ञानभूमिहरु लगायत पुरातात्विक महत्वका स्थलहरु यस चुरे क्षेत्रभित्र पर्ने कुरा प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) र वातावरणीय प्रभाव मुल्याङकन (ईआईए) रिपोर्टमा उल्लेख गरी धार्मिक पर्यटनसँग सम्बन्धित कार्य योजना निर्माण गरी किरात धर्मलाई संरक्षण सम्बद्र्धन गर्न हार्दिक अनुरोध गर्दछौं ।’

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, माङसेबुङ विकास समिति, महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार संरक्षण समिति, किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तपोभूमि फुलुङगी फाउण्डेशन, हाङसाम थेबा युमा वरक माङहिम, ओत हाङसाम फाल्गुनन्द माङहिम, फाल्गुनन्द धार्मिक वन उपभोक्ता समिति, चुलाचुली सामुदायिक वन उपभोक्ता समिति, चुरे संरक्षण तथा अनुसन्धान केन्द्रले सुझाव पेश गरेका छन् ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो सुनुगेन थक्सुवा मुजोत्लुङ पान्जुम्भो, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र लिङ्देन तोपाहाङ स्मृति प्रतिष्ठान लगायतका संघ संस्थाहरुले सो सुझाव पत्र पेश गरेका छन् ।

माई नगरपालिकामा पेश गरेको सुझाव पत्रलाई माइ नगरपालिकाका वडा नं. १, ६, ७, ८, देउमाइ नगरपालिकाका वडा नं. ९ र माङसेबुङ गाउँपालिकाका वडा नं. ३ र ५ लाई बोधार्थ दिइएको माङसेबुङ विकास समितिका सचिव उदय विक्रम तुम्बापोले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : ०१ बजे