१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको सहमति



इलाम । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेश सभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली आकाङ्क्षी थिए । आङ्बोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सहयोग गर्ने भएको छ ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठनका लागि बहुमत जुटाउन ४७ मत आवश्यक पर्छ । पहिलो दल एमालेको ४० सिट हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद छन् । ६ सिट रहेको राप्रपाले पनि आङ्बोलाई सहयोग गर्दा उनको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ३६ बजे