माङसेबुङ । माङसेबुङ गाउँपालिकाले वडा नम्बर ५ का भूमिहीन अव्यवस्थित बसोबासीलाई जग्गा चासभोगको निस्सा वितरण गरेको छ ।
शुक्रबार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई वडा नम्बर ५ को कार्यालयबाट निस्सा वितरण गरेको हो ।
वडा नम्बर ५ का ३६ भूमिहीन सुकुमबासी र ५ सय ५३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ भने, माङसेबुङ १ का १३ जना भूमिहीन सुकुमबासी र १ सय १७ जना अव्यवस्थित बसोबासीलाई गरी १ सय ३० जनालाई लगत प्रविष्टिका आधारमा जग्गाको निस्सा वितरण गरिएको थियो ।
‘निस्सा वितरण कार्य नै जग्गा धनीपूर्जाका लागि पहिलो आधार भएकाले पनि यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने गरी हामीले पालिकाको तर्फबाट काम गरिरहेका छौं । राष्ट्रिय भूमि आयोगको पछिल्लो पटकको सूचनाका आधारमा थप आवेदन परेका छन् । त्यस बारेमा पनि आवश्यक प्रक्रिया अघि बढाउने योजना छ’, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले भने ।
माङसेबुङ १ र ५ मा भने भूमिहीन दलित संख्या नरहेको उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिए । उनले तिहारपछि नै जिल्लास्थित राष्ट्रिय भूमि आयोजसँगको सहकार्यमा निस्सा अनुसारका जग्गा नापजाप कार्य सुरु गरिने बताए ।
माङसेबुङ ५ किारत धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएको र यहाँ किरात धर्मगुरु आत्मनन्द लिङ्देनको आश्रमसहित विभिन्न धार्मिक संघसंस्था रहेकाले जनघनत्व बढी हुने वडा अध्यक्ष नरेन्द्र राईको भनाइ छ ।
अव्यवस्थित बसोबासीको संख्या माङसेबुङ ५ मा पालिकाकै अन्य वडा भन्दा बढी रहेको छ ।