५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

महागुरु फाल्गुनन्दको दिव्यउपदेशको महत्व बुझ्न सक्ने ज्ञान, विवेक र चेतनामा पुग्न आवश्यक: किरात धर्मगुरु



माङसेबुङ/महागुरु फाल्गुनन्दको सिवाखाहुनको महत्व बुझ्न सक्ने ज्ञान, विवेक र चेतनामा पुग्न आवश्यक रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङज्यूले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई बुझेर सही सदुपयोग गर्नुपर्छ ।’

किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोहको अवसरमा निजी गुरु आश्रम लारुम्बामा आयोजित १ हजार १ सय ३९ तामाको कलस सहितको दिपावली एंव जलपान कार्यक्रममा आशीर्वचन दिनु हुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

समाज सुधार्न विकट ठाउँको विपन्न परिवारमा महागुरुको जन्म भएको बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘महापुरुष, महात्माहरु कुनै पनि सुख र सहज ठाउँमा जन्म लिएको हुँदैन ।’ विश्वमा महात्माहरु शान्तिवादी र विध्वंसकारी गरी दुई किसिमको जन्म लिने सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यू विश्व शान्ति र मानव एकता स्थापनाका लागि यो लोकमा जन्म लिनु भएको हो ।’

विश्वको गति राम्रो नरहेको संकेत गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विनाशकारी भूकम्प, महामारी रोग व्यधिहरुबाट जोगिन सबैले विवेक पु¥याउनु पर्छ । यसका लागि माङसेवा गर्नु । खानपिनमा शुद्धता हुनु । शरिर र मनलाई सधैं पवित्र राख्नु ।’

हामीले आशीर्वाद माग्न र थाप्न नजान्दा अहिले यो अवस्थामा रहेको चर्चा गर्नुहुँदै वहाँले अब आशीर्वाद माग्न सिक्नुपर्ने बताउनु भयो । अङसीमाङज्यूले भन्नु भयो, ‘आशीर्वाद माग्दा जीवनभरीको लागि मात्र नभई आकाश धर्ति, सूर्य चन्द्र रहुञ्जेलका लागि माग्नु पर्छ । ज्ञान, बुद्धि, विवेक, जन धनको सह रहोस् भनि माङवाहाङवा माग्नु पर्छ ।’

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा सम्पन्न कार्यक्रममा अङसीमाङज्यूले किरात धर्म दर्शन विश्वव्यापीकरण हुँदै गएकोले अब यसलाई कसैले रोक्न र छेक्न नसक्ने पनि सुनाउनु भयो ।

महागुरु जन्मजयन्ती कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई प्रमुख अतिथि रहनु भएको थियो । भने, कार्यक्रममा फाक्फोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राई, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, निजी प्रवक्ता डिल्लीराम चाम्लीङ, संयुक्त राज्य अमेरिकाका प्रतिनिधि भक्त तिगेला, नाम फुरुम्बो, अम्बर नेम्बाङ लगायत विभिन्न राजनीतिक, धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

गत वर्षझैं यस वर्ष पनि कार्तिक २४, २५ र २६ गते त्रिदिवसीय रुपमा मनाइएको जन्मजयन्ती कार्यक्रमको व्यवस्थापन गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिले गरेको थियो ।

आयोजक समितिका संयोजक टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक समितिका सचिव उदयविक्रम तुम्बापोले औचित्य मन्तव्य राख्नु भएको थियो । भने सोना ओख्राबोले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा पनि एक हजार एक सय उन्चालिस तामा गाग्रोको कलससहित लारिङगेक नाम्लीङगेक खेल्दै महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाएको छ । त्यसैगरी किरात धर्मावलम्बीहरु बसोवास रहेको विश्वको विभिन्न मुलुकका प्रत्येक माङहिमहरुमा नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रमलाई भव्य र सभ्य ढंगले मनाइएको छ ।                                                                                                                                        kiratingse.com

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : २३ बजे