६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आत्मानन्द कपमा आज मोरङ र तेह्रथुमबीच प्रतिस्पर्धा



माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । हिजोको खेलमा धनकुटालाई २-१ गोल अन्तरले पराजित गर्दै तिजोक पाचँथर दोस्रो चरणमा प्रवेश गरेको छ । भने, धनकुटा पहिलो चरण बाटै जितबिहिन हुँदै बाहिरिए ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १ : ४० बजे