१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

साक्थिम्गेनले किरात सांस्कृतिक सम्मेलनको लागि प्रस्तावना तयारी गर्ने



माङसेबुङ ।  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, पूर्व सचिव दिलकुमार सेर्मा, पूर्व कलाकारहरु रत्नकुमारी एवाई, अगम एवाई, हस्तकुमारी राई, दिलमति चेम्जोङ लगायतले विगतका आफना अनुभूतिहरु सुनाएका थिए ।

सो भेटघाट कार्यक्रममा विगत लामो समययता मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले पान्जुम्भोलाई नीति निर्देशन दिइरहनु भएको किरात सांस्कृतिक सम्मेलनको विषयमा व्यापक छलफल गरिएको थियो । सांस्कृतिक सम्मेलनको महत्व र आवश्यकताको विषयमा पान्जुम्भोका पूर्व अध्यक्ष डिबी लिङदमले अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

किरात सांस्कृतिक सम्मेलनको लागि बृहत छलफल पछि किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संयोजनमा तयारी गर्ने गरी किरात सास्कृतिक सम्मेलनको प्रस्तावना पत्र तयार गरी पितृ संस्था माङगेन्ना समितिमा छलफल गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरु समक्ष पेश गर्न ७ सदस्यीय समिति समेत गठन गरिएको छ ।

यसरी गठन भएको समितिको संयोजकमा डिबि लिङ्दम (पान्जुम्भोको पूर्व अध्यक्ष), सह संयोजकमा रामबहादुर थुलुङ राई (पान्जुम्भोको पूर्व अध्यक्ष) र सदस्य सचिवमा ज्ञानु केदेम (पान्जुम्भोको वर्तमान अध्यक्ष) चयन भएका छन् ।

यसरीनै समितिको सदस्यहरुमा क्रमशः इन्द्र योङ्हाङ (पान्जुम्भोको पूर्व उपाध्यक्ष तथा केन्द्रीय कलाकार), दिलकुमार सेर्मा (पान्जुम्भोको पूर्व सचिव तथा केन्द्रीय कलाकार), दिलकुमार लाओती (पान्जुम्भोको पूर्व केन्द्रीय कलाकार) र बिपना तबेबुङ (पान्जुम्भोको वर्तमान सदस्य) रहेका छन् ।

माङसेबुङ ५ इलामस्थित किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको भवनमा आयोजित भेटघाट तथा छलफल कार्यक्रम पान्जुम्भोको अध्यक्ष ज्ञानु केदेमको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुवास गुरुङले गरेका थिए ।

किरात धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विगत साढे ४ दशकयता क्रियाशिल संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले स्थापना कालयता हालसम्म पान्जुम्भोमा आबद्ध पान्जुम्भोका पदाधिकारी, सदस्यहरु साथै कलाकारहरुसँग साक्थिम्गेनको विषयमा भेटघाट तथा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : २४ बजे