२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

किरात धर्म सत्यहाङमा सेवा संघद्धारा जारी प्रेस विज्ञप्तिको खण्डन गर्दै पत्रकार सम्मेलन



इलामः किरात धार्मिक संस्थाहरुले पछिल्लो समय किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार भइरहेको विषयमा विहिबार प्रेस सम्मेलन आयोजना गरेको छ ।

किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै किरात धार्मिक संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त रुपमा प्रेस सम्मेलन आयोजना गरेको हो ।

किरात धर्म सत्यहाङमा सेवा संघले विज्ञप्ति जारी गर्दै राष्ट्रिय विभूति महागुरुसँग सम्बन्धित आधिकारिक संस्था आफूहरुसँग मात्र रहेको भन्ने प्रचार गरेसँगै किरात धार्मिक संस्थाहरुले पनि आधिकारिक रुपमा सत्य तथ्य विषय सार्वजनिक गर्नु परेको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

समितिका अध्यक्ष केहेरसिं योङहाङ र उत्थान संघका का. वा. अध्यक्ष प्रेमकुमार सिप्तुङखाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा लेखिएको छ ‘विश्व शान्ति तथा मानव एकता र सकल मानव प्राणी लगायत चराचर सृष्टि जगतकै रक्षार्थ जन्मावतरण हुनु भएका किरात धर्म दर्शनका महागुरु फाल्गुनन्द लिङदेनज्यूको वि.स. २००५ सालमा देहावसान भएपछि उहाँकै उत्तराधिकारीको रुपमा पुनः अवतार भई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेईङज्यू कर्मयोगमा वि.स. २०११ साल मंसिर १८ गते शुक्रबारको दिन जन्म अवतरण हुनुभएको हो ।

यहीँ तथ्यलाई पुष्टि गर्न किरात धर्मगुरु निरन्तर महागुरुकै धर्मदर्शनलाई अंगिकार गरी अगाडि बढाउने क्रममा वि.स. २०२७ सालमा इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थित फुलुङगी गुफाडाँडामा ६ महिना कठोर गुफा साधना गरी अष्टसिद्धि ज्ञान प्राप्त गर्नु भई इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं. ५, लारुम्बालाई कर्म क्षेत्र बनाई आफ्नो कर्म गरिरहनु भएको छ ।’

विज्ञप्तिमा किरात धर्म सत्यहाङमा सेवा संघका अध्यक्ष ज्ञानबहादुर लावती (ज्ञानोदय)को गतिविधि बारेमा पनि सार्वजनिक गरिएको छ । अध्यक्ष लावतीले किरात धर्ममा फाटो ल्याउने र विभिन्नखाले व्याक्तिहरु धर्मगुरु घोषणा गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘महागुरु फाल्गुनन्द लिङदेनको वंशवृक्षलाई हेर्दा महागुरु फाल्गुनन्दकै जेठा दाजु लाजहर्क लिङदेनको छोरा टेकबहादुर लिङदेन, टेकबहादुर लिङदेनको छोरा पुण्यप्रसाद लिङदेन, पुण्यप्रसाद लिङदेनको छोरा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू हुनु भएकोले महागुरुको पनाति पुस्तामा रहनु भएको हुँदा महागुरुको नजिकको हकवाला समेत कानुनी रुपमा पुष्टि हुन आउँछ ।’

विज्ञप्तिको पूर्ण पाठः

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : ३१ बजे