इलाम : इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
दमकदेखि इलामको माङसेबुङ आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलामा आएको बाढीले बगाएको हाे । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको माङसेबुङको लामिटार प्रहरी चौकीले जानकारी दिए ।
मृत्युु हुनेमा नाबालक ३ बर्षिय नियन नेम्वाङ र ताप्लेजुङ घर भई हाल सुनसरी धरान बस्ने अन्दाजी वर्ष ३० की शर्मिला वनेम रहेका छन् ।
उक्त जीपमा चालक सहित ६ जना सवार थिए । ६ जना मध्ये ४ जनाको सकुसल उद्धार भएको र एक जनाको उपचार भईरहेको प्रहरीले बताए ।
समयमै सडक नबन्दा दुर्घटना
दमक चिसापानी ( फाल्गुनन्द मार्ग ) दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटरको पहिलो सडक खण्डको कालोपत्रे निर्माण कार्य समयमै नबनेको कारण पछिल्लो समय दुर्घटना बढेको छ । बर्खा लागेसंगै कालोपत्रेको लागि सुरु गरिएको सडक समयमै नबन्दा सोमबार दमकदेखि माङसेबुङ आउदै गरेको जीप रतुवा खोलामा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
दमक चिसापानी ( फाल्गुनन्द मार्ग )मा कालोपत्रेको लागि निर्माण कार्यका लागि सडक बन्द गरिएको कारणले रतुवा खोलैखोला जोखिम मोलेर बर्खायाममा सवारीसाधन र यात्रुहरुले यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको सो मार्ग दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटरको पहिलो सडक खण्डको लागि महालक्ष्मी–किराँतेश्वर जेभीले ठेक्का पारेको हो ।
महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएको सो मार्ग पटकपटक म्याद थपिँदा पनि निर्माण कार्य सम्पन्न भएको छैन । सो सडक निर्माणकै कारण गत बैशाक ४ गते इलामको माङसेबुङबाट मोरङ घर फर्किनेक्रममा मार्चेबुङमा रहेको पुलबाट बाइक खोलामा खस्दा मोरङ निवासी महेस रुङमाङ राईको निधन भएको थियो ।