६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङले वार्षिक नीति तथा कार्यक्रम पुर्णपाठ



­माङसेबुङ: माङसेबुङ गाउँपालिकाले आईतबार आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिकाले गाउँसभाको १५ औँ अधिवेशनबाट माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईबाट प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।

गाउँपलिकाको सभाहलमा आयोजित गाउँसभा अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, गरिबी निवारण, उद्यमशीलता विस्तार आदि क्षेत्रमा कार्यक्रम बनाएको छ ।

अध्यक्ष राईबाट प्रस्तुत नीति तथा कार्यक्रमको सम्पादित पूर्ण पाठ –

गाउँसभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

अब म आर्थिक वर्ष २०८१/८२ मा रोजगारी सृजना, सीप विकास, कृषिको व्यवसायीकरण, पूर्वाधारको स्तरोन्नति, सेवा प्रवाहमा सुधार हुने अपेक्षा गर्दै क्षेत्रगत नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु ।

सामाजिक विकास

शिक्षा

सामूदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा बाल विकास कक्षामा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई विगतवर्ष देखि प्रदान गरिँदै आएका सेवा सुविधाहरु निरन्तरता दिइने छ ।

मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदान, कम्प्युटर प्रशिक्षक स्वयंसेवक  अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ । लिम्बू भाषा शिक्षक, राई बान्तवा भाषा शिक्षक र कम्प्युटर शिक्षकहरुलाई पोशाक भत्ताको व्यवस्था गरिनेछ ।

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न माध्यमिक विद्यालय शिक्षक दरबन्दी प्राप्त नभएका विद्यालयहरुमा गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिइने छ ।

सामुदायिक विद्यालय तथा धार्मिक वा वैकल्पिक विद्यालयहरुमा पठन पाठन हुने मातृभाषाको पाठ्यक्रम र पाठ्य पुस्तक तथा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणलाई निरन्तरता दिँदै सोको उपलब्धतालाई सहज बनाइनेछ साथै निर्माण भएको स्थानीय पाठ्य पुस्तक सबै विद्यालयहरुलाई उपलब्ध गराइने छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, विद्यालयमा विद्यार्थी टिकाइ राख्न र विद्यालय बीचैमा छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा बालबालिका कक्षा ५ सम्म दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

विद्यालयका छात्राहरुलाई नि:शुल्क उपलब्ध गराइने स्यानीटरी प्याड वितरण कार्यलाई निरन्तरता दिइनेछ ।

विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, पुस्तकालय व्यवस्थापन, शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग र विज्ञान प्रयोगशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

एक गाउँपालिका, एक प्राविधिक धार विद्यालय सञ्चालनमा आवश्यक सहयोग गरिनेछ ।

सबै माध्यमिक विद्यालयमा स्काउट विस्तार गरी प्रभावकारी बनाइनेछ ।

सरस्वती मा वि मा प्रदेश नमूना माध्यमिक विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सामुदायिक विद्यालयहरुबाट SEE परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने एक एक जना छात्र तथा छात्रा विद्यार्थीलाई इलाम जिल्लाको प्राविधिक (कृषि, पशु, सिभिल इन्जिनियरिङ र सर्भेयर ) विधामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिनेछ ।

माध्यमिक विद्यालय परीक्षा (SEE) लाई अझ व्यवस्थित, प्रभावकारी र नतिजा उन्मुख बनाउन SEE सहयोग कार्यक्रमलाई निरन्तरता दिन श्रोतको व्यवस्था गरिनेछ । साथै आधारभुत तह कक्षा ५ र कक्षा ८ को परीक्षा गाउँपालिकास्तरीय गर्न आवश्यक बजेटको व्यवस्थालाई निरन्तरता दिइनेछ ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षक, नतिजाका आधारमा विद्यालय तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार र प्रोत्साहन गरिनेछ ।

शिक्षकहरुका पेशागत सीप विकासका लागि तालिमहरु सञ्चालन गरिनेछ ।

विद्यालय अनुगमन सुपरीवेक्षण तथा पेशागत सहयोग कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनेछ ।

सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध बनाउन सरोकारवालाहरुबीच छलफल, अन्तरकृया, गोष्ठी जस्ता अभिभावक शिक्षा कार्यक्रमहरु सबै वडाहरुमा सञ्चालन गरिनेछ ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका प्रतिभा पहिचान तथा विकासका लागि प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

विद्यालय तहको खेलकूद विकासको लागि राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमका लागि बजेटको व्यवस्था गरिनेछ ।

माङसेबुङ गाउँपालिका क्षेत्रभित्रमा स्थायी बसोबास गरी एम. बि. बि. एस. अध्यायन गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गरिनेछ । यस कार्यक्रमका लागि बजेटको व्यवस्था गरिनेछ ।

राई बान्तवा भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी बान्तवा राईको बाहुल्य रहेका विद्यालयहरुमा पठनपाठन सुरु गरी शिक्षक दरबन्दीको व्यवस्था गरिंदै लगिने छ ।

गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयका बालविकास कक्षाहरुलाई व्यवस्थित गर्न उचित बजेटको व्यवस्था गरिनेछ ।

अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

विद्यार्थी संख्याको आधारमा  विद्यालयमा  शिक्षक दरबन्दी मिलान गर्दै लगिने छ ।

सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि सहयोग कार्यक्रम तथा सञ्चालनमा नरहेका कम्प्युटर, डेक्सटप तथा प्रिन्टर मर्मतका लागि बजेटको व्यवस्था गरिनेछ ।

लोकसेवा तयारी कक्षा सञ्चालनको लागि उचित बजेटको व्यवस्था गरिने छ ।

Skill of Friday लाई विद्यालयहरुमा लागू गरिनेछ । साथै विद्यालयहरुमा योग तथा साधनालाई अभ्यास गरिनेछ ।

ख) स्वास्थ्य

“सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मूल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति समेत भईसकेको र अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढिसकेकोले अस्पताल निर्माण कार्यलाई गति दिइनेछ ।

सञ्चालन भईरहेका स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै लगिनेछ ।

सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरुमा कार्यरत करार कर्मचारीहरुको पारिश्रमिक सुविधालाई गाउँपालिकामा उपलब्ध श्रोत साधन समेतका आधारमा निरन्तरता दिइने छ ।

गाउँपालिकाको हरेक वडाका टोल तथा बस्तीहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भईरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

माङसेबुङ गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरहरुलार्इ सवलीकरण गरिनेछ ।

गाउँपालिकाभित्रका गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्न नदिन साथै नवजात शिशु तथा आमाको सुरक्षाका लागि गर्भवती महिलालाई स्रोत, साधन र सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन गाउँपालिकाले उपलब्ध गराइरहेको नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।

ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिप्रति श्रद्धा, आदर, सम्मान तथा सद्भावको अभिवृद्धि गर्नको लागि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बिरामी भर्इ अस्पताल जानुपर्ने अवस्था भएमा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

नवजात शिशु र आमाको पोषणका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइँदै लगिने छ ।

गाउँपालिकाभित्रका नागरिकहरुका लागि प्रोस्टेट ग्लान्ड सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

स्वास्थ्य संस्थाहरुमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ति गरिनेछ ।

गाउँपालिकाभित्र बसोबास गर्ने मृत्यु भएका व्यक्तिका परिवारलाई दाहसंस्कार गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ ।

गाउँपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवाको भाडा दरमा समयानुकूल समायोजन गरिने छ ।

ग) खानेपानी तथा सरसफाई

खानेपानी योजनाहरुको सञ्चालन र मर्मत संभार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रूपमा खानेपानी उपलब्ध गराउने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ ।

खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालिन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा कार्यान्वयन गर्न पहल गरिनेछ ।

खानेपानीको स्रोत नभएको ठाउँमा स्रोतको सम्भाव्यता अध्ययन गरी वैकल्पिक उर्जालाई प्रयोग गरी सौर्य लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरिनेछ ।

सुक्खाग्रस्त क्षेत्र महाभारा डाँडा आसपासमा रहेको माङमालुङ बजार लगायतका क्षेत्रहरुमा स्वच्छ खानेपानीको प्रबन्ध गरिनेछ ।

(घ) कला, भाषा तथा संस्कृति प्रवर्द्धन

माङसेबुङ गाउँपालिकाभित्र मातृभाषाहरुको संरक्षण र प्रवर्द्धन गर्ने कार्य गरिनेछ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकामा किराँत लिम्बू भाषालाई ‘सरकारी कामकाजी भाषा’ घोषणा गरी लिपिको हकमा किरात सिरिजंगा लिपि प्रयोग गर्ने घोषणा गरिए अनुसार गाउँपालिकामा एक जना लिम्बू भाषाको भाषिक कर्मचारी नियुक्ति गरी कार्य सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

गाउँपालिकामा ३७ प्रतिशत किरात राई जातिको बसोबास रहेको कुरालाई मध्यनजर गर्दै गाउँपालिकामा बान्तावा भाषालार्इ समेत ‘सरकारी कामकाजी भाषा’ घोषणा गरिएको छ । जसका लागि गाउँपालिकामा एक जना बान्तवा भाषिक कर्मचारी नियुक्ति गरी कार्य सञ्चालन गरिनेछ ।

४. गाउँपालिकामा रहेका सम्पूर्ण जात जातिको भाषा, धर्म, लिपि र संस्कृतिलाई समान रूपमा संरक्षण, सम्बर्द्धन र विकास गर्ने नीति अवलम्बन गरिनेछ । धार्मिक समुदायहरुको विशेष स्थान मठ मन्दिर,  माङहिम,  गुम्बा,  चर्च,  सेमीचोङ आदि संरक्षणलाई प्राथमिकता दिइनेछ । सामूहिक चुलाखिम, गाउँपालिकास्तरीय माङखिम,  साकेला थान निर्माण गरी संरक्षण गर्ने नीति लिइनेछ ।

५. यस गाउँपालिकामा जन्म लिई समाजमा विशेष योगदान गर्नुहुने राष्ट्रिय व्यक्तित्व तथा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दज्यूको नाममा बृहत साँस्कृतिक फाल्गुनन्द पार्कको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेकोमा सो पार्क निर्माण कार्यलार्इ तीब्रता दिइनेछ । हरेक वर्षको कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइँदै आइएकोमा सो दिवसलाई अहिंसा दिवसका समेत जोडेर मनाउने ।

६. लोपोन्मुख मौलिक बाजा लगायत विभिन्न मौलिक भाषा तथा संस्कृति संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।

७. भाषा, संस्कार, संस्कृति, साहित्य र कलाको विकास गर्नका लागि गाउँपालिकास्तरीय ‘माङसेबुङ प्रज्ञा प्रतिष्ठान’ गठन गरिनेछ । साथै प्रतिष्ठानको आयोजनामा बहुभाषिक साहित्यिक गोष्ठी तथा सम्मान कार्यक्रमहरु सञ्चालन गरिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।

८. माङमालुङ धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न ऐन निर्माण गरी गाउँपालिकास्तरीय ‘माङमालुङ धार्मिक पर्यटन विकास समिति’ गठन गरिनेछ ।

९. घाट तथा समाधिस्थलहरुलाई व्यवस्थित गर्दै लगिनेछ ।

(ड) खेलकुद,  युवा तथा रोजगारी

युवाहरुले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्न युवाहरुलाई सीपमूलक तथा आयमूलक तालिम प्रदान गरिनेछ ।

राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

डोलटार खेलमैदानलाई गाउँपालिकास्तरीय खेलमैदानको रूपमा स्तरोन्नति गर्दै लगिनेछ साथै गाउँपालिकाका हरेक वडाहरुमा सम्भाव्यताको आधारमा राष्ट्रिय मापदण्डयुक्त ‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने नीति लिइनेछ ।

खेलाडी उत्पादन, खेलाडी तथा खेलको स्तरोन्नतीको लागि नियमित प्रतियोगिताहरु सञ्चालन गर्ने व्यवस्था मिलाईने छ ।

खेलकुद विकासको लागि गठन गरिएको गाउँपालिकास्तरीय माङसेबुङ युवा तथा खेलकुद विकास समितिको सबलीकरण गरिने छ ।

सेइङ आत्मानन्द लिङदेनज्यूको जन्मोत्सव र सेइङ पवित्रहाङमा साम्बा लिङदेनज्यूको जन्मोत्सवको अवसरमा सञ्चालन हुने गोल्ड कपका लागि सहयोग गर्ने कार्यलार्इ निरन्तरता दिइनेछ ।

विभिन्न खेलकूद प्रतियोगिता सञ्चालनको लागि सम्भाव्यताको आधारमा मापदण्डयुक्त खेलमैदान, कभर्डहल, रंगशाला लगायतमा आवश्यक भौतिक पूर्वाधारको निर्माण र सुव्यवस्थित सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक पहल गरिनेछ ।

रोजगार सिर्जना गर्न युवालाई लक्षित गरी व्यवसायिक, सीपमुलक, रोजगारमुलक तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

गाउँपालिकाका सबै वडाहरुमा युवा क्लबको गठन गरी विपद व्यवस्थापन तथा स्वयंसेवकीय कार्य र सामाजिक जागरणका अभियानहरुमा युवा परिचालन गरिनेछ ।

वैदेशिक रोजगारीबाट फर्केका र अन्य बेरोजगार युवाहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्राप्तिका लागि सहजीकरण गर्दै स्वरोजगार र रोजगारीका थप अवसरहरुको सृजना गरिनेछ ।

युवा सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय युवा परिषद र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

गाउँपालिकाद्वारा संचालित वडास्तरीय महिला तथा पुरूष फुटबल प्रतियोगितालार्इ निरन्तरता दिइनेछ । साथै कराते, ब्याडमिन्टन, भलिबल बुद्धिचाल खेललार्इ पनि समावेश गरी खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।

च) लक्षित समूह

आदिवासी जनजातिको उत्थान तथा विकासको लागि गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय समितिलार्इ पूर्णता दिइनेछ ।

आदिवासी जनजातिको ऐतिहासिक थात्थलोमा प्राकृतिक स्रोत र साधनमा आश्रित आदिवासी जनजातिको उपभोग अधिकार, कानुनी सुरक्षा, प्राकृतिक स्रोतको दोहन गर्नुअघि पूर्व सहमति र लाभको न्यायोचित बाँडफाँडको हकलाई सुरक्षित गरिनेछ ।

आदिवासी जनजातिको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिम तथा कृषि सम्बन्धी नयाँ प्रविधिको अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

महिलाको उत्थान तथा विकासको लागि माङसेबुङ गाउँपालिकास्तरीय महिला समन्वय समिति गठन गरिएको छ । सो गाउँपालिकास्तरीय महिला समन्वय समितिबाट महिलाको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।

दलित सामुदायको उत्थान र विकासको लागि गाउँपालिकास्तरीय दलित समन्वय समिति गठन गरिनेछ । सो समितिले प्रचलित कानुनको अधीनमा रही दलित सामुदायको अधिकार र विकास सम्बन्धी नीति तथा कार्यक्रम सामाजिक समवेशिताको आधारमा तयार गरी लागू गर्नेछ ।

अपाङ्गता सम्बन्धी संस्थागत क्षमता विकास, शारीरिक पुनःस्थापना, स्वास्थ्य शिविर, बौद्धिक अपांगता सशक्तीकरण, अपांगता पुनःस्र्थापना केन्द्र सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

अपाङ्गता भएका वर्गका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

गाउँपालिकाबाट अपाङ्गता परिचयपत्र सरल र सहज ढंगबाट उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिईनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरी सहायक सामग्रीहरु वितरण गरिनेछ ।

बाल क्लब र बाल सञ्जाललाई सशक्त बनाई बालबालिकाहरुको हकहित र अधिकारको संरक्षण र प्रवर्द्धन हुने कार्यक्रम सञ्चालन गरिनेछ ।

जोखिममा परेका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।

सरकारी, गैरसरकारी, सहकारी, निजी तथा स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्न पहल गरिनेछ ।

गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरुबाट हुने सार्वजनिक सेवा प्रवाहमा ज्येष्ठ नागरिकहरुलाई अग्राधिकार दिने र निजी क्षेत्रलाई समेत यसमा प्रोत्साहन गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।

लक्षित समूहहरुको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न साथै उल्लेखित कार्यहरुका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।

माङसेबुङ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान गठन गरिनेछ ।

छ) सामाजिक सुरक्षा तथा संरक्षण

वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगारमा सूचीकृत युवाहरुलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र सीप सहितको युवा रोजगारका लागि रूपान्तरण पहल आयोजना सञ्चालन गरिनेछ ।

सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमका लागि प्राप्त हुने सङ्घीय सशर्त अनुदानमा गाउँपालिकाले आवश्यक रकम थप गर्नेछ ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गतका कार्यक्रमहरु सञ्चालनका लागि सङ्घीय शसर्त अनुदानमा आवश्यक रकम प्राप्त हुनेछ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

आर्थिक विकास क्षेत्र

कृषि तथा पशु विकासः

परम्परागत खेती, कन्दमुल खेतीलाई प्रोत्साहन गरिनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।

कृषिको उत्पादनको लागत घटाउन, व्यवसायिक बनाउन, प्रतिस्पर्धी बनाउन यान्त्रीकरणमा जोड दिइनेछ ।

कृषक समूह दर्ता, कृषि सहकारी, कृषि उद्यमी तथा मल बीउ बिषादि बिक्रेताको सूचीकरण तथा अभिलेखीकरण गरिनेछ ।

कृषकहरुलाई बिषादि प्रयोगमा न्यूनीकरण गरी जैविक मल प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक तालिमहरुको आयोजना गरिनेछ ।

कृषिलाई आधुनिकीकरण गर्नका लागि सझेदारीमा प्लास्टिक टनेल/ प्लास्टिक मल्चिङ/ कृषि यान्त्रीकरण/ उन्नत जातको बिउ वितरण लगायतको कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ ।

साना तथा सीमान्तकृत, भूमिहिन किसान लक्ष्यित जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिनेछ ।

कृषक समूह, कृषि सहकारी समेतको सहभागितामा स्थानीय उत्पादन सङ्कलन तथा बजारीकरणको संयन्त्र विकास गरिनेछ ।

बाली तथा पशु स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन किसानलाई प्रोत्साहित गरिनेछ ।

कृषि उपजको उत्पादन सघनतालाई ध्यानमा राखेर कृषि तथा पशुपालन पकेट कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विकासका लागि लगानी गर्न चाहने कृषक र उद्यमीहरुका लागि वित्तीय पहुँचमा वृद्धि गर्न सरकारी, गैरसरकारी, सहकारी, निजी क्षेत्र तथा वित्तीय संस्थाहरुसँग समन्वय र साझेदारी गरिनेछ ।

गाउँपालिकामा उत्पादित चिया, अलैंची, अदुवा, जडिबुटी, दुग्धजन्य पद्धार्थ, फलफूल लगायतका नगदेबालीहरुको बजारमा पहुँच वृद्धि तथा बजार विस्तारका लागि सरोकारवालाहरुसँग समन्वय गरिनेछ ।

कृषिमा नयाँ व्यवसायको नमूना कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई उत्पादन संस्कृतिमा जोड्न अधिकतम प्रयत्न गरिने छ ।

कृषि उत्पादनको उचित भण्डारण गर्नको लागि सङ्घीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरी ‘एक गाउँपालिका एक शीत भण्डार’ र दुग्ध चिस्यान केन्द्र निर्माण गर्न पहल गरिनेछ ।

पशुपालन व्यवसायलाई पूर्ण व्यवसायिक बनाउन कृत्रिम गर्भधानद्वारा नश्ल सुधारका लागि सेक्स सिमेन लगायतका उन्नत जातका सिमेन कृषकहरुलाई उपब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

तरकारी, फलफूल तथा पशुधनको बजार सञ्चालन गर्न कृषि बजार पूर्वाधार निर्माण गरिनेछ ।

कृषकहरुको उत्पादनलाई सहज ढङ्गले बजार व्यवस्था गर्न ‘एक वडा एक हाट बजार’ योजना सञ्चालनमा पहल गरिनेछ ।

कृषि विकास कार्यक्रम बढीमा ५० प्रतिशत लागत साझेदारी, प्रवर्द्धन कार्यक्रमहरु (फलफूल खेती, तरकारी खेती, पशुपालन) मा शत प्रतिशत साझेदारी, कृषि तथ्यांक व्यस्थापन र कृषक सूचीकरण तथा दर्ता कार्यक्रममा शत प्रतिशत साझेदारी र अन्य कार्यक्रमको हकमा परियोजनाको लागतको प्रकृति अनुसार बढीमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

गाई पकेट कार्यक्रमलार्इ व्यवस्थित र व्यवसायिक बनाउनका लागि उन्नत जातको घाँस उत्पादन गर्ने निजी कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीहरूसँग समन्वय गरी वितरण कार्यलाई निरन्तरता दिइनेछ ।

‘एक पालिका एक उत्पादन कार्यक्रम’ साझेदारीमा सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ ।

कृषि एम्बुलेन्स सञ्चालन गरी उत्पादित कृषि तथा पशुजन्य सामग्रीहरुको बजारीकरणलाई प्रवर्द्धन गरिने छ ।

रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

अकबरे खोर्सानी खेतीलाई प्रोत्साहन गरी पकेट क्षेत्रका रूपमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

(ख) पर्यटन

गाउँपालिकाका प्रमुख पर्यटकीय आर्कषक गन्तव्यहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्रहरुमा माङसेबुङ डेस्कको स्थापना गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र, अन्य स्थानीय तह र सरकारी निकायसँग समन्वय र साझेदारी गर्ने नीति लिईनेछ  ।

माङसेबुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेवुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेको हुनाले उक्त गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकार, सङ्घीय सरकारसँग लागत साझेदारी कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।

गाउँपालिकाभित्रका अन्य राष्ट्रिय महत्व राख्ने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा अन्धारानी, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किट तथा सञ्जालहरुको विकास गर्न गुरुयोजना निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार, सङ्घीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गरी पूर्ण सुविधायुक्त पर्यटकीय स्थलहरुको विकास गर्दै लगिनेछ । गजुरमुखीधाम, माङसेबुङ, माङमालुङ, विराटज्योति माङहिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पहल गरिनेछ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई किरात धार्मिक क्षेत्रको रूपमा साझेदारीमा विकास गर्न सङ्घीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।

साहसिक खेल रक क्लाइम्बिङको लागि घोर्लेभीर, तारेभीर तथा प्याराग्लाइडिङ्गको चतुरेदेखि लारुम्बा, नावालुङदेखि गजुरमुखीधाम, उत्तरेदेखि रतुवाबेसी, तीनथुम्कीदेखि चतुरे आदिको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

ग्रामीण पर्यटन प्रवर्द्धन निम्ति सामूहिक घरबास (Home Stay) तथा सामुदायिक आवास व्यवस्थापनका लागि प्राविधिक सहयोग र तालिमको व्यवस्था गरी सेवाको गुणस्तर वृद्धि गरिनेछ ।

किरात धर्म गुरुज्यूको आश्राम लारुम्बा क्षेत्र, खत्रक्पा, फुलुङ्गी, चुक्चिनम्बा, अगौटे, गजुरमुखीधाम, माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासको लागि प्रदेश सरकार, सङ्घीय सरकार तथा दातृ निकायहरुसँग सहकार्य समन्वय गरिनेछ । माङसेबुङको लारुम्बा क्षेत्र वृहत्तर विकासका लागि दातृ निकाय स्वीस सरकारसँग समन्वय गरिनेछ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र माङमालुङलार्इ सुनाखरी क्षेत्रको रूपमा विकास गर्न सरोकारवाला‚ विभिन्न सङ्घ संस्थाहरु तथा व्यक्तिहरुसँगको सहकार्यमा सुनाखरी फूल रोपन गर्ने नीति लिइनेछ ।

गजुरमुखीधाम‚ माङमालुङधामको विकासको लागि सरोकारवालाहरुसँग छलफल गरी धार्मिक पर्यटकीय क्षेत्र विकास ऐन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याउन पहल गरिनेछ ।

माङमालुङ वन क्षेत्रलाई सामुदायीक वन उपभोक्ता समितिको अवधारणामा लगि ब्यवस्थित गरिने छ ।

(ग) सहकारी

विकासको एक प्रमुख साझेदारको रूपमा विकास भएको सहकारी क्षेत्रको लागि गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरिनेछ ।

अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ ।

सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि सबैखाले सहकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकारी तथा बचत समूहहरुलार्इ क्रियाशिल बनाई व्यवस्थित बनाइनेछ ।

सहकारी संस्था, जल उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, निजी खानेपानी, संघसंस्था आदिलाई नियमानुसार वडा वा पालिकामा दर्ता तथा नवीकरण गर्न आवश्यक पहल गरिनेछ ।

(घ) उद्योग 

लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पद्दार्थमा आधारित उद्योग सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।

गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग विस्तार गरिनेछ । स्थानीय सीप, श्रोत र साधनलाई प्रयोग गरी खाँडी, अल्लो, गाँजा, ढाकाजस्ता उत्पादन गर्ने लक्षित वर्गलाई सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्ने समुहमा प्रविधि हस्तान्तरण गरिनेछ ।

नयाँ उद्यमीहरुको सृजनाका लागि सामाजिक परिचालन, उद्यमशीलता तथा सीप विकास तालिम सञ्चालन, पुराना उद्यमीहरुको स्तरोन्नति, उद्यमीको वित्त क्षेत्रमा पहुँच तथा प्रविधि हस्तान्तरण गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।

स्थानीय कच्चा पद्दार्थबाट सञ्चालन गर्न सकिने उद्योगलार्इ प्रोत्साहन गर्ने नीति लिइनेछ ।

गाउँपालिकामा मिनरल वाटर उद्योग सञ्चालन गर्नका लागि व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा सम्भाव्यता अध्ययन गरिनेछ ।

बाँस उत्पादन क्षेत्रलार्इ प्रोत्साहन गर्दै बाँसबाट उत्पादित तामाका परिकारहरु उत्पादन, प्रशोधन गरी बजारीकरण गर्न व्यक्तिगत फर्म, सहकारी र समुहहरुसँगको सहकार्यमा कार्य अघि बढाइनेछ ।

यान्त्रिक उपकरण (हलुका सवारी, हेभी मेसिन (एक्स्काभेटर, ब्याक हो लोडर आदि), चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन आदि) तथा नवीकरणीय उर्जा प्रणाली (सौर्य उर्जा प्रणाली, सुधारिएको चुल्हो, लघु जलविद्युत, बायोमास आदि) को लागत अनुमान/ कार्यसम्पन्न निरीक्षण प्रतिवेदन बनाउनको लागि परामर्शदाता नियुक्त गरिनेछ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्य ज्यूहरु

पूर्वाधार विकास क्षेत्र

सडक भवन तथा पुल

माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य ‘दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ प्राप्तिका लागि भौतिक पूर्वाधारको विकास गर्दै लगिनेछ । सडक क्षेत्रको योजनाबद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।

गाउँपालिकाभित्रका मुख्य सडकहरुमा सबै समयमा यातायातका साधनहरु सञ्चालन हुने गरी स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरी लागत साझेदारीमा सडक स्तरोन्नति गर्ने कार्यक्रम सञ्चालन गरिने कार्यलार्इ निरन्तरता दिइनेछ ।

‘आहा माङसेबुङ’ अभियान सञ्चालन गरी गाउँपालिकाका सडकहरुलाई व्यवस्थित र भरपर्दो बनाई हरेक वडा बस्तीका नागरिक र पर्यटकहरुको जनजीवनलाई सहज र व्यवस्थित गर्दै लगिने नीतिलार्इ निरन्तरता दिइनेछ । अब सडकहरु बाह्रैमास (अलवेदर) बनाइनेछ ।

गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।

गाउँपालिकाभित्रका मोटरेबल सडक, पदमार्ग, पक्की पुल, झोलुङ्गे पुलहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

जिल्ला सदरमुकाम तथा अन्तरपालिका जोड्ने सडकहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि सम्बन्धित निकाय, विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

गाउँपालिकाभित्रका एक वडादेखि अर्को वडा जोड्न बाँकी रहेका स्थानमा सडक विस्तार गरिनेछ । साथै सडक सञ्जाल जोडिईसकेका सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

‘दिगो विकास समृद्धिको आधार : स्थायित्व र पर्याप्त पूर्वाधार’ माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य प्राप्तिका लागि गाउँपालिकाले मर्मत संभार कोषबाट सञ्चालन हुने कार्यक्रमलाई निरन्तरता दिनेछ ।

दश लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरु प्रतिस्पर्धात्मक ठेक्का प्रकृयाबाट कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिकाभरि एउटै रहने गरी व्यवस्था मिलाइनेछ । प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सूचीकृत हुने व्यवस्थाको शुरुवात गरिनेछ ।

उपभोक्ताहरुको लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ ।

घर नक्सा पास गरी कार्यान्वयनमा ल्याइने छ ।

गाउँपालिका स्तरीय कृषि सडकलाई गौरवको योजनामा कार्न्वयन गरिने छ ।

पूर्वाधार तथा विपद पूर्व तयारीका लागि आवश्यक इक्यूपमेण्ट खरिद गर्न बजेटको व्यवस्था गरिने छ ।

जलश्रोत र उर्जा विकास

उज्यालो घर अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाका हरेक वडाको प्रत्येक टोल बस्ती र घरहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाईन पुर्याउने लक्ष्य राखी साझेदार निकायहरुसँगको समन्वय र सहकार्यमा उच्च प्राथमिकताका साथ काम गरिनेछ । यस अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, सङ्घीय सांसद र सङ्घीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गरिनेछ ।

गाउँपालिका, प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच त्रिपक्षीय संझौता पत्रमा २०७५ भाद्र ०५ गते हस्ताक्षर भएको र विद्युतको राष्ट्रिय प्रसारण पुर्याउन सम्भव नभएको टोल बस्ती र घरहरुमा ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्यमा सौर्य उर्जा मार्फत उज्यालो घर, उज्यालो टोल बस्ती कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

समुदायमा आधारित साना सौर्य ग्रीड सञ्चालनको लागि गाउँपालिकाका विभिन्न क्षेत्रहरुहरुमा सम्भाव्यता अध्ययन गर्नको लागि ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्य गरिनेछ ।

गाउँपालिकाभित्र रहेका खोला र नदीहरुबाट जलविद्युत उत्पादनको लागि सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नको लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण क्षेत्रको लागि नवीकरणीय उर्जा कार्यक्रमसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । गाउँपालिका क्षेत्रभित्र भएर बग्ने देउमाई, फेवा, रतुवा र तामा खोलाबाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिनेछ ।

गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा सौर्य बत्ति जडान कार्यलाई निरन्तरता दिईने छ ।

सुधारिएको चुलो तथा बायोग्यास जडान गर्नेलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।

गाउँपालिकाभरि विद्युतीकरण यथाशीघ्र सम्पन्न गर्न पहल गरिनेछ ।

सिँचाई

सिँचाइको सुविधाको अभावले बाँझो रहेका खेतीयोग्य समथर जमीनको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना सञ्चालन गर्न आवश्यक पहल गरिनेछ ।

गाउँपालिकाबाट सञ्चालन हुने कृषि विकास कार्यक्रम र सिँचाइ योजनाहरुलाई अन्तर सम्बन्धित बनाई सञ्चालन गरिनेछ ।

गाउँपालिका क्षेत्रभित्र रहेका सिँचाइ आयोजनाहरु सम्पन्न गर्न प्रदेश सरकार, सङ्घीय सरकार र स्वीस दातृ निकायसँगको सहकार्यमा सञ्चालित सिँचाइ आयोजनाहरुलार्इ निरन्तरता दिइनेछ ।

गाउँपालिकाभित्र पानीका मुहानहरुलाई लिफ्टिङ प्रविधिबाट उपयोग गरी खेतीयोग्य जमिन सिञ्चित गर्ने नीति लिइनेछ ।

गाउँ सभाका उपाध्यक्ष तथा सदस्यज्यूहरु

वन, वातावरण तथा विपद व्यवस्थापन

चुरे क्षेत्रको वनलाई दिगो रूपमा संरक्षण गर्न सो क्षेत्रका बसोबासीहरुलाई नदी उकास तथा खोल्सा खोल्सी क्षेत्रमा बाँस लगायतका वन पैदावरमा आधारित व्यवसायिक आय आर्जनका कार्यमा उत्प्रेरित गरी भू–क्षयको दृष्टिले संवेदनशील सो क्षेत्रमा लोपोन्मुख वनस्पती तथा जीवजन्तूको संरक्षणमा जोड दिईनेछ ।

यस गाउँपालिकामा बाँस प्रचुर मात्रामा पाईने भएकोले यसमा आधारित उद्योग विकास गर्दै बाँसको रोपन एवं विस्तारलाई आय आर्जनको प्रमुख आधारको रूपमा स्थापित गर्ने नीति लिईनेछ ।

गाउँपालिकाभित्र रहेका ताल-तलैया पोखरी र सीमसारहरुको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।

वन अतिक्रमण, अवैध कटानी, वन फँडानी, चोरी शिकारी, तस्करी तथा वन डढेलो नियन्त्रणका लागि जनसहभागितामूलक र समन्वयात्मक संयन्त्र निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

संभावित खोला–नदी कटान र भू–क्षय नियन्त्रण गर्न पहिरो र कटान क्षेत्रलाई बायो-इञ्जिनियरिङ र स्थानीय प्रविधिमा आधारित चेक ड्याम निर्माण गरी कटान र भू–क्षय नियन्त्रण गर्ने नीति लिईनेछ ।

गाउँपालिकाको वडा नं ३, ५ र ६ को दक्षिणी भेग तथा वडा नं ४ चुरे क्षेत्रमा पर्ने र वर्षातको समयमा बाढीपहिरो एवं नदी, खोला, खोल्सीले कटान गर्ने हुनाले त्यसको रोकथाम र संरक्षण गर्नको लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँग आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

गाउँपालिकाभित्र जडिबुटी लगायतका वन पैदावरमा आधारित उद्योग सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा स्थापना गर्नको लागि पहल गरिनेछ ।

स्थानीय वातावरण अनुकूलका वन पैदावरहरुको विस्तार र विविधीकरण गरी वातावरण संरक्षण र व्यवस्थापन गरिनेछ । साथै भू–क्षय नियन्त्रण र नदी मुहान तथा किनाराको संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

एक गाउँपालिका एक नर्सरी, एक गाउँपालिका एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।

डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहसँग समन्वय गरेर वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

प्राकृतिक प्रकोप भूकम्प, महामारी, बाढी पहिरो, आगलागी समेतले निम्त्याउन सक्ने असहज अवस्थाको व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषलाई उपयोग गरिने छ ।

उल्लेखित विपद सम्बन्धी कार्यका लागि बजेटको व्यवस्था गरिनेछ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन  

सेवा प्रवाह र सुशासन

गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका गतिविधिहरुका बारेमा जनतालाई सुसूचित गर्न, पारदर्शिता कायम गर्न, सेवाग्राहीको पृष्ठपोषण लिन चौमासिक रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी हरेक क्रियाकलापलाई जवाफदेही र पारदर्शी बनाइनेछ ।

सेवालाई जनताको घरदैलौमा पुर्याउन आर्थिक वर्ष २०७९/८० बाट वडा नं २, ३ र ६ को सेवा प्रवाहलाई विस्तार गरी सेवाकेन्द्रबाट सेवा प्रवाह सञ्चालन गरिएको छ यसलार्इ निरन्तरता दिइनेछ ।

यस गाउँपालिकाको भौतिक विकासका अलवा माग र अधिकारमा आधारित विभिन्न गतिविधि गर्दै विकासको मूल प्रवाहमा सबै नागरिकहरुलाई समावेश गर्न र राज्यले व्यवस्था गरेका बालबालिका, दलित अपाङग, पिछडा वर्ग, अल्पसंख्यक सीमान्तकृत व्यक्ति तथा समुदायको समावेशी तथा समतामूलक विकास गर्नको लागि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विषयगत कार्यालयहरु र सम्बन्धित गैरसरकारी संघ, संस्थाहरुलाई आग्रह गर्दै सम्बन्धित क्षेत्रमा आवश्यक योजना निर्माण तथा बजेट विनियोजनका लागि आह्वान गर्ने ।

सुशासनमा जोड दिंदै सेवा प्रवाहमा बिना भेदभाव सबैलाई समान अवसर प्रदान गरिनेछ ।

गाउँ कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभुत तथा सामुदायिक स्वास्थ्य इकाइ, कृषि तथा पशु शाखामा कार्यरत करार कर्मचारीहरुको सेवालाई निरन्तरता दिईनेछ ।

फिल्डमा खटिनुपर्ने ईञ्जिनियरिङ सेवा तर्फका प्राविधिक कर्मचारीहरुलाई फिल्ड भत्तालाई निरन्तरता दिइनेछ ।

साबिकको स्थानीय निकायमा स्थायी नियुक्ति भई कार्यरत कर्मचारीहरु सेवाबाट अवकाश हुँदाका बखत प्रदान गरिने सुविधाका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिनेछ ।

गाउँपालिकाभित्रका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र इकाइमा विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।

गाउँपालिकामा सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाइनेछ ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा पदीय दायित्वबोध, जवाफदेहिता, व्यवसायिकता तथा क्षमता वृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ ।

गाउँपालिका र वडा कार्यालयबाट संकलन गरिने राजश्वलाई पारदर्शी बनाउन अन लाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।

पदीय जिम्मेवारीको थप महसुस गराउन साथै काममा उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट कर्मचारी (वडा सचिव, प्राविधिक कर्मचारी र अन्य कर्मचारी), उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट पदाधिकारी, उत्कृष्ट शिक्षक शिक्षिका, कक्षा आठ, एस. ई. ई. र कक्षा १२ सर्वोत्कृष्ट अंक ल्याउने छात्र छात्रा साथै गाउँपालिका क्षेत्रबाट अवकाश भएका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई जीवनभर गरेको सेवाको सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, सेवा प्रदान तथा सुशासन कायम गर्न विद्यालय तथा कार्यालयहरूमा सि. सि. टि. भि. जडान गर्ने नीति लिइनेछ ।

सूचना तथा सञ्चार

देशको सामाजिक, आर्थिक, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि सूचना तथा सञ्चार प्रविधि अपरिहार्य साधन भएकोले यसलाई समयानुकूल प्रभावकारी रूपमा उपयोग गर्ने नीति लिइनेछ ।

असमान रूपमा रहेको गाउँपालिका र वडा कार्यालयहरुको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरुलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट जोड्न र सोही माध्यमबाट इन्टरकम टेलिफोनको व्यवस्था गर्नका लागि इन्ट्रानेटको व्यवस्था गरिनेछ ।

सञ्चालित योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई व्यवस्थित र नतीजामुखी बनाइनेछ । साथै स्थानीय तहहरुको क्षमता स्वमूल्यांकन (LISA) र स्थानीय तहको वित्तीय जोखिम मूल्याङ्कन (FRA) लाई अझ प्रभावकारी बनाइने छ ।

नागरिक वडापत्रहरु, विभिन्न कार्यक्रमका सूचना, फोटो तथा भिडियो, प्रत्यक्ष कार्यक्रमहरु प्रदर्शन गर्नका लागि विद्युतीय डिजिटल डिस्प्ले बोर्ड राख्ने कार्यलाई विस्तार गरिनेछ ।

पारदर्शी, छिटो, छरितो र सुरक्षित डाटाबेस साथै पेपरलेस कार्यक्रमका लागि जिन्सी, सिफारिस, योजना, राजश्व, लगायतका क्षेत्रहरुमा सफ्टवेयर प्रणालीलाई निरन्तरता दिइनेछ ।

सूचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।

गाउँपालिकाले गरेका गतिविधिहरूबारे जनतालार्इ सूचित गर्न पत्र–पत्रिका, अनलाइन पत्रिका, रेडियोमा माङसेबुङका विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ ।

स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमहरूको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने सञ्चार माध्यमहरूलार्इ लोक कल्याणकारी सूचनाको व्यवस्था मिलाउँदै लगिनेछ ।

नेपालका विभिन्न सञ्चार माध्यमहरूमा काम गर्ने माङसेबुङ गाउँपालिकाबासी पत्रकारहरूको सीप तथा  क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिनेछ । जसका लागि स्थानीय सञ्चार माध्यम र पत्रकारितासँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिनेछ ।

माङसेबुङ गाउँपालिकाले प्रकाशन गर्दै आएको माङसेबुङ बुलेटिन प्रकाशन यस वर्षदेखि निरन्तरता दिइनेछ ।

माङसेबुङ गाउँपालिकाको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउने नेपालका विभिन्न सञ्चार माध्यमहरूमा काम गरिरहेका पत्रकारहरूमध्ये एक जना पत्रकारलार्इ वर्षेनी सम्मान गरिनेछ ।

माङसेबुङ गाउँपालिकामा रहेका एफ. एम. स्टेशनलार्इ प्रशारण क्षमता वृद्धि गर्न प्रोत्साहन गर्ने नीतिलार्इ निरन्तरता दिइनेछ ।

माङसेबुङ गाउँपालिकाको विकासका लागि वि स २०१५ सालदेखि हालसम्मका जननिर्वाचित/जनप्रतिनिधिहरुको चिनारी सङ्गालो प्रकाशन गरिनेछ ।

अन्य

गैर सरकारी संस्था

गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्दा आवधिक तथा वार्षिक गाउँपालिका विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीयस्तरबाट माग, छनौट र प्राथमिकीकरण भई आएका आयोजना र कार्यक्रमहरु मध्येबाट गर्नु पर्ने नीति लिइनेछ ।

गैर सरकारी संस्थाको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न सहजीकरण, परिचालन, अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाईनेछ ।

गैर सरकारी संस्था तथा लघुवित्त संस्थाहरुले गाउँपालिकासँग अनुमति लिएर मात्र कार्य गर्ने व्यवस्था गरिनेछ ।

गरिबी न्यूनीकरण

गरिबी निवारण गर्न स्थानीय श्रोत साधनको उपलब्धता र बजारीकरणको पहुँचलाई ध्यान दिँदै बाँस तथा काठ उद्योग खोल्नलाई गाउँपालिकाले सहयोग गर्नेछ ।

गरिबी निवारणको निम्ति गरिबसँग विशेश्वर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नयाँ उद्यमी सृजना गर्दै, पुराना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै लगिनेछ साथै उद्यमीहरुले सरल र सहज तरिकाले ऋण प्राप्त गर्ने कार्यमा आवश्यक पहल र समन्वय गरिनेछ ।

संभावनाका आधारमा विकास गरिएका कृषि तथा पशु विकासका पकेट क्षेत्रहरुको कार्यक्रमलाई स्थानीय समुदायको आय आर्जन र सीप विकाससँग जोडी गरिबी न्यूनीकरणमा प्रत्यक्ष रूपमा सहयोगी बनाइनेछ ।

साना सिँचाईकार्यक्रम सञ्चालनबाट सिँचाईसुविधा पुगेको बाँझो जमिनलाई उपयोग गरी कृषिलाई व्यवसायिक बनाई अतिरिक्त आय आर्जन हुने नीति लिई गरिबी न्यूनीकरणमा सहयोगी बनाइनेछ ।

मापदण्डका आधारमा गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरणका लागि लगत संकलन कार्य सम्पन्न भएकोले आगामी आ. व. मा परिचय पत्र वितरण गरिनेछ ।

भूमि व्यवस्था

जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति लागू गरिने छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण कृषियोग्य जमिनको उचित उपयोग गर्न भू-उपयोग योजना तर्जुमा गरी भूमिको वर्गीकरण गरिनेछ ।

लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न संकलन गरेको लगतका आधारमा लगत प्रविष्टिको निस्सा चालू आ. व. २०८०/०८१ वितरण गरिसकिकएको र स्थलगत नापचाँच गरी आ. व २०८१/८२ देखि भूमिहीन सुकुम्बासी/ भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलार्इ जग्गाको धनीपूर्जा वितरण गर्ने कार्य अघि बढाइनेछ ।

राजश्व नीति

राजश्व परिचालनका लागि करका दरभन्दा दायरा फराकिलो पारि नयाँ आम्दानीका स्रोतहरु पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइनेछ ।

करयोग्य आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउँदै प्रगतीशील, समन्यायिक, पारदर्शी, व्यवसायमैत्री राजश्व प्रणालीको विकास गरिनेछ ।

कर प्रशासनमा सूचना प्रविधिको प्रयोगलाई निरन्तरता दिइनेछ ।

न्याय सम्पादनः

न्याय सम्पादनलाई सर्वसुलभ बनाउनका लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुलाई व्यवस्थित गरिँदै लगिनेछ । जसका लागि बजेटको व्यवस्था गरिनेछ ।

न्याय सम्पादनमा संलग्न हुने पदाधिकारीहरु तथा मेलमिलापकर्ताहरु र कर्मचारीको क्षमता वृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

अध्यक्ष विकास / उपाध्यक्ष विकास कार्यक्रम

आर्थिक वर्ष २०७९/८० बाट सुरुवात गरिएको अध्यक्ष विकास कार्यक्रम र उपाध्यक्ष विकास कार्यक्रमलार्इ निरन्तरता दिइनेछ ।

अन्त्यमा,

माङसेबुङ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न गाउँपालिकामा श्रम संस्कृतिको विकास गरिनेछ । सोका लागि सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि, कर्मचारीहरुमा जनश्रमदानको लागि आह्वान गरिनेछ । लिइएको नीति तथा कार्यक्रमलार्इ सम्पन्न गर्न आम माङसेबुङबासीको सल्लाह, सुझाब र साथ सहयोगको पनि उत्तिकै आवश्यकता रहेको छ । लिइएको नीति तथा कार्यक्रमलार्इ कार्यन्वयन गर्न सके ‘आहा माङसेबुङ’ को परिकल्पनालाई पूरा गर्न सकिने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ११ : ३२ बजे