६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङको आत्मानन्द मेडिकलमा बिशेषज्ञ सेवा



आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि सुनाउछिन् ।

स्वास्थ्यकर्मि मनोज सिवाकोटी र रिना सिवाकोटी दम्पतिले केही महिना अगाडीबाट भिडियो एक्सरे, इसिजि र ल्याब सन्चालनमा आएदेखि आत्मानन्द मेडिकलमा सेवाग्राहीहरुको चाप बढ्न थालेको छ । हरेक महिनाको पहिलो र तेस्रो शनिबार दमक अस्पतालका फिजिसियन वरिष्ठ डा. अनुपम घिमिरेद्वारा सेवा दिदै आइरहेको छ ।

दमक अस्पतालका मुटु,दम,बाथ,थाइराइड,सुगर,प्रेसर रोग विशेषज्ञ डा.घिमिरेका अनुसार बढिजसो दिर्घरोगी सुगर,प्रेसर, हड्डि खिइएको र छालासम्बधि रोगीहरु स्वास्थ्य चेकजाच गर्न आउने गरेको जानकारी दिए ।

 

गाउँमै बिशेषज्ञसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीय सेवाग्राहीहरुमा सहज भएको माङसेबुङ -३, उत्तरेका जीवन लिम्बुले बताए । छोरीको लागि स्वास्थ्य चेकजाच गर्न आएको लिम्बुले मेडिकल आएको बेला आफुले पनि सुगर चेकजाच गरेको सुनाए । उनले भने, ‘लामो समयदेखि विभिन्न रोगको उपचार गर्न दमक, विर्तामोड र विराटनगर जानू पर्ने बाध्यता स्थानीय सेवाग्राहीहरुलाई रहेको थियो । तर , गाउँमै बिशेषज्ञ डाक्टरसहित भिडियो एक्सरे , इसिजि र ल्याब आएदेखि सेवाग्राहीहरु खुशी भएका छन् । , त्यस्तै अर्का सेवाग्राही बिष्णु इधिङगो हरेक महिना आफ्नै गाउँमा स्वास्थ चेक गर्न पाएकोले खुशी व्यक्त गर्छन् ।

इलाम सदरमुकामबाट दक्षिण पश्चिम र झापाको दमकबाट उत्तरतर्फ १७ किलोमिटरको दुरिमा माङसेबुङ लारुम्बा रहेको छ । गाउँघरमा डाक्टरले सेवा दिन थालेसंगै गर्भवती महिलाहरुको लागि पेटमा रहेको बच्चा चेकजाँच गर्न सहज भएको कुसुम श्रेष्ठ बताउछिन् । उनको अनुसार गाउँमै भिडियो एक्सरे आएकोले दमक धाउनु पर्ने बाध्यता हटेको बताउदै आफुले गाउँमै चेकजाँच गर्ने गरेको समेत बताइन् ।

मेडिकलमा सेवा सुविधा थपिएसँगै अन्यत्र ठाउँबाट समेत सेवाग्राहीहरु आउन थालेको र स्वास्थ्य चेकअप र फलोअप गर्न सहज भएको सेवाग्राहीहरुको प्रतिक्रिया रहेको मेडिकल सञ्चालक स्वास्थ्यकर्मी मनोज सिवाकोटीले बताए ।

विगत डेढ दशकअघि माङसेबुङ लारुम्बा साथिसंग घुम्न आएका पेशाले स्वास्थ्यकर्मि समेत रहेका मनोज सिवाकोटीले सुरुवातमा जलेश्वर क्लिनिक साविक बाझो ८ हाल माङसेबुङ – ३ लामिटारमा खोलेका थिए । यसरी गाउँमै विशेषज्ञ डाक्टरको सेवासहित मेडिकल संचालनमा आएदेखि  सेवाग्राहीलाई स्वास्थ्य उपचार सेवा बरदान साबित भएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ११ : ०८ बजे