७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माङसेवासाबा काठमाण्डौं अध्यक्षमा प्रेम वनेम निर्वाचित



काठमाडौं: किरात धर्मावलम्बीहरुको माङसेवासाबा/माङसेवासामाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो (उपत्यका समिति) को ५ औं सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौँको भङ्गालस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न सम्मेलनले प्रेमकुमार वनेमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष बलराम खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा सरिता लाओती, मनमाया वनेम नेम्बाङ र छत्र खापुङलाई निर्वाचित गरेको छ । भने, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा मदन खालिङ, कोषाध्यक्षमा पितामप्रसाद देवानलाई निर्वाचित गरेको जनाइएको छ । यसरीनै सदस्यहरुमा चन्द्रहरी चेम्जोङ, योगमाया केरुङ, डिकबहादुर थुलुङ लगायत निर्वाचित भएका छन् ।

सम्मेलनमा विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम, संघका केन्द्रीय उपाध्यक्षद्धय दंगधोज खोयाहाङ र नवीन लिङ्देन माङमिङ्सोहाङ, संघका केन्द्रीय सदस्य सूर्यविक्रम चेम्जोङ, किरात याक्थुङ चुम्लुङ काठमाडौ जिल्ला अध्यक्ष डम्बर तुम्बाहाङ्फे, किरात माङ्सेसे हाङ्साङ माङहिम लुभुका अध्यक्ष ज्ञान बहादुर.इजम लगायत विभिन्न पेशाकर्मी, कलाकार, भक्तजनहरुको उपस्थिति रहेको थियो ।

माङ्सेवासावा नेवाला पान्जुम्भोका अध्यक्ष हरी थक्लिहाङको अध्यक्षतामा सम्पन्न सम्मेलनले वि.सं. २०७० देखि २०८० सम्मसम्मको सम्पूर्ण गतिविधि समेटिएको स्मारिका समेत प्रकाशन गरिएको छ । कार्यक्रममा स्मारिका प्रकाशन सहयोगी र संस्थालाई विभिन्न तवरले सहयोग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको हरेक गतिविधिहरुलाई प्रचार–प्रसारमा अतुलनीय सहयोग गर्ने सक्रिय सदस्य राजेन्द्र केरुङलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

वि.सं. २०५५ सालमा किरात साम्यो माङ्सेवासावा मुजोत्लुङ पान्जुम्भोको गठन भएपछि जिल्ला समितिको रुपमा उपत्यकामा वि.सं. २०६० सालमामाङसेवामाम साङ्दाङगेन वरुम्साबा दुबिन्द्र सेर्माको अध्यक्षतामा किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो गठन भएको थियो । सेर्माले २ कार्यकाल नेतृत्व गरेपछि २०७० सालमा सम्पन्न तेस्रो उपत्यका सम्मेलनले साङ्दाङगेन वरुमसाबा हरी थक्लिहाङलाई अध्यक्षमा निर्वाचित गरेको थियो । थक्लिहाङले पनि २ कार्यकाल अध्यक्षको रुपमा नेतृत्व सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ६ : ३४ बजे