४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङसेबुङ लिप्टीङ खानेपानी आयोजना अन्तिम चरणमा



माङसेबुङ: इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८६ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए ।

सरकारको १३ करोड ८ लाख ३v हजार ७ सय ८ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडा ३ र ५ वासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’, १० घनमिटर क्षमताको चार वटा ‘रिजर्भ ट्याङ्की’ र बिजुली भवन निर्माण सम्पन्न भएका छन् ।

आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ ।

जब बर्षाद लाग्छ माङसेबुङ ३ को तल्लो बेल्ट र वडा ५ का जनतालाई लेदो खानेपानीको भर पर्ने भएकोले लामो प्रयासपछि लिफ्टीङ प्रबिधिमा खानेपानी आपुर्ति गर्न लागिएको किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका छ हजार तीन सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : ४४ बजे