३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङसेबुङ भूमि भनेको तपाईंहरुको शीर हो : अङसीमाङ आत्मानन्द सेइङ



 

माङसेबुङ । किरात धर्म दर्शनमा अथाह ज्ञानको भण्डार रहेकोले त्यो पत्ता लगाएर उपयोग गर्न सबैले कोशिस गर्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

‘संसार विश्व युद्धको नजिक नजिक पुगेको छ’ अङसीमाङज्यूले भन्नु भयो, ‘विश्व शान्ति मानव एकता कसरी कायम राख्न सकिन्छ त्यसमा सबैले चिन्तन गर्नुपर्छ ।’ वहाँले थप्नुभयो, ‘सबैमा एकता रहौं सबैमा सद्भाव राखौं ।’

‘संसारमा अब एउटा अचम्मको परिवर्तन आउँछ, त्यो मिलाएर मात्र म फर्कन्छु ।’ वहाँले आशीर्वचनमा भन्नुभयो, ‘यो पृथ्वी जोगियो भने मात्र हामी रहन्छौं नभएर संसार उजाड हुनेछ ।’

देश विदेशमा ठुला ठुला महामारी नआवस, आपत्तकालिन अवस्था नहोस भनेर माङसँग प्रार्थना गरिरहेको सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विश्व शान्ति होस्, माङले रक्षा गरोस, जहाँ बसेपनि माङको कृपाले बसेका छौं ।’ ‘माङसेबुङ भूमि भनेको तपाईंहरुको शीर हो’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘यो नुमाङगेन्ना नाम मेरो भएपनि माङगेन्ना चोत्लुङको उपलब्धि तपाईंहरुको हो ।’

स्वच्छ विचारले हाम्रो कर्म संस्कारहरु सुधार्दै जानुपर्ने सुनाउनु हुँदै वहाँले खानपीनमा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । ‘अब उभौली पर्वमा सेवा गरेर माङवाहाङवा मागौं, आशीर्वाद लिएर सत्त कर्म गरौं’ वहाँले आशीर्वचनमा थप्नुभयो, ‘आशीर्वाद पाएपछि सही सदुपयोग गर्नुपर्छ ।’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ६ : २१ बजे