किरात मुन्धुमी भाषामा धर्मलाई साम्यो भनिएको छ। साम–आत्मा, यो–पूर्णता, आत्माको पूर्णता नै साम्यो भनिएको हो। अर्थात् धर्म आत्मासँग जोडिएको हुन्छ। आत्माको पूर्णता भन्नाले आत्मा मुक्तिको अवस्थामा पुग्नु, दुःखको चक्करबाट पार पाउनु हो। तर, अहिलेका अधिकांश मानवले त्यो मुक्तिपथको यात्रा गर्न बिर्सेका छन्। त्यसैले त धर्म केवल मानिसलाई एउटा सम्प्रदायमा आबद्ध गराउने र धर्मको खोल ओढेर आफ्नो प्रभुत्त्वलाई विस्तार गर्ने काम हुँदै आएको छ।
मुन्धुम अनुसार धर्म त मानव समाजलाई दुःख मुक्तिको अवस्थामा पुर्याउने मार्ग हो। धर्मले मानिसलाई अन्य पशुपन्छीको रक्षा हुने कर्म गर्न दिशानिर्देश गर्दछ। सूक्ष्म शाश्वत जीवन छ भनेर बुझेको मानिसले आफूलाई कदापि धोका दिंदैन। पद, प्रतिष्ठाको प्रलोभनमा फसेर आफ्नो पुनर्जन्मका लागि पापको भागी कदापि बन्न चाहँदैन। त्यसैले उसले अरुलाई पनि धोका दिंदैन। तर, विज्ञान प्रविधिको चामत्कारिक विकासले आफूलाई हेर्ने, साधनामा ढालेर आत्माबोध गर्ने मानिस कमै मात्र भेटिन्छन्।
मानवमा आत्माबाट आलोकिने सर्वोत्कृष्ट चेतनालाई नकारात्मक सोचले उब्जाएको मोह, लोभ, क्रोध, ईर्ष्या, अहङ्कारले कैद गरेको हुन्छ। जसका कारण मानवीय स्वभाव गुमाएर शाश्वत जीवन के हो भन्ने अनभिज्ञ हुन्छन्। अतः अस्थायी शरीर लागयत स्थायित्व रहनै नसक्ने वस्तुको प्रलोभनमा फसेर सुख, शान्ति, खुसी, आनन्द गुमाउँछ।
लोभ यस्तो नशा हो जसले गर्दा नै मानिस आफन्त, साथीभाइ जो कोहीसँग विवादित बनाउँछ र सम्बन्धमा तगारो लगाइदिन्छ। लोभमा डोर्याएको बाटोमा हिंड्न थालेपछि नै मानिस मानवीय कर्तव्यबाट विमुख हुनपुग्छ। आज विश्वका शक्ति राष्ट्रका राजनेताहरूदेखि सामान्य मानिस पनि अनावश्यक इच्छाको सिकार भएका छन्।
शाश्वत धर्म लोभ, क्रोध, ईर्ष्या, अहङ्कारको विषयसँग कदापि जोडिंदैन। यदि ती विषयसँग जोडेर प्रवाह गरेको धर्मले आफ्नो सम्प्रदायको स्वार्थमा राजनीति, संस्कृति विस्तार गरेर कमजोर सम्प्रदायहरूमाथि राजनीति, सांस्कृतिक उत्पीडन गर्दै उनीहरूको पहिचान मेटाउने निकृष्ट कार्य गरिरहेको हुन्छ। विश्वमा भएको यही व्यवहारले आज शाश्वत धर्म ओझेलमा परेको छ।
धर्मविहीनताकै कारण युद्ध, हिंसा, विश्वयुद्धहरू भए जसले लाखौं मानिसको मृत्यु भयो। करोडौं मानिस त्यसबाट प्रभावित भए। हावा, पानी प्रदूषित भयो। जसले गर्दा जलप्राणी, थलप्राणी, पशु, पन्छीसमेत स्वतन्त्र रुपले जिउन पाएनन्। यही कहालीलाग्दो परिस्थितिकै कारण महागुरु फाल्गुनन्दले एक शताब्दीअघि हाङसाम साम्यो शाश्वत धर्मलाई ब्युँताउनुभयो। पशुपन्छीको बलि, मानव–मानवबीच विभेद, असमानता, यी यावत कुराको अन्त्य गर्न माङको सात्विक अनुष्ठान परम सत्यमा निहित मुन्धुम दर्शनमा आधारित शिक्षाको विकास गर्ने अभियान चलाउनुभयो। यद्यपि, महागुरुको उद्देश्य मानवलाई मानवीय स्वभावमा जिउन सिकाउने, मुन्धुमका तात्त्विक कुराहरू अशिक्षा र अज्ञानतामा जकडिएका आफ्नै बन्धुबान्धवले बुझ्न सकेनन्।
संस्कारमा नगन्य मात्रामा सुधार आए पनि मुन्धुमको सात्त्विक पक्षको विस्तार हुन सकेन। महागुरुबाट भएको माङवाणी, उपदेशहरू मानव जीवनलाई जीवन्त बनाउने पक्षका छन्। तर व्यवहारमा नआएपछि माङवाणी, उपदेश जान्ने, बुझ्नेहरू पनि सुन्ने, सुनाउनेमा मात्र सीमित भए। महागुरुको उपदेशमा उल्लेख छ, ‘इसेन्दिङ यक्मिक्ले आधान्दाम्मे’ (भित्री आँखाले ठम्याउ), ‘इसेन्दिङ निङ्वाले आइतेम्मे’ (आत्माबाट अङ्कुरित मनले सम्झ)। महागुरुले भित्री आँखा खोल्ने विषय उठाउनुभएको छ। यसो गरे मात्र माङ चिन्न सक्छौ भन्नुभएको छ। मनले उब्जाएको भावनाले होइन आत्मासँग जोडिएको चित्तमय मनले सम्झ। यदि यो स्थितिमा पुगेर कर्म गर्यौ भने ‘माङजोत्लुङ हाङजोत्लुङ कुसाङलमा कुलिङधो केप्मा केसुक्ती’ (ईश्वर अनुष्ठानको होडमा, राजनीति होडमा सफलता प्राप्त गर्छौ, निर्णायक ठाउँमा पुग्छौ।) भन्नुभएको छ।
यस्तै, ‘अचुक्त चुला, अनन्त शाखा, निर्मल काया हुन सक्नू, खागी, त्यागी दुवै बाटो अपनाउनू, धर्मलाई शैव मान्नू’ भन्नुभएको छ। ‘अचुक्त चुला’ विभेदरहित समाज, ‘अनन्त शाखा’ कहिल्यै नमासिने सत्य अवलम्बन गर्ने मानव शाखा, ‘निर्मल काया’ मानसिक, शारीरिक अपराधरहित शरीर वा जीवन, ‘खागी’ पारिवारिक गृहस्थ जीवनमा पनि सात्विक आचार, आहार, विहार व्यवहार गरेर मुक्तिमार्गको यात्रा पार गर्न सकिने, ‘त्यागी’ गृह त्याग गरेर मुक्ति अवस्थामा पुग्ने। ‘धर्मलाई शैव मान्नू’ मुन्धुमी शब्दमा शैव, अभिन्न मित्र जो हाङसाम अनन्त आत्मापुञ्ज माङलाई इङ्गित गर्नुभएको हो। जसलाई कहिले नभुल्नू नै मूल धर्म हो।
सरल रुपमा बुझ्दा आत्माज्ञान खोलिएर मात्र माङलाई चिन्न सकिन्छ। त्यो अवस्थामा पुग्न निर्मल शरीर बनाउन शुद्ध आहार, विचार, व्यवहार आवश्यक हुन्छ। आफूभित्र डुबेपछि आत्मा जागरुक हुन्छ र माङसँग निकट हुन सकिन्छ। माङशक्ति प्राप्त भएमा मात्र शान्ति, खुसी, प्रेम, करुणा प्रवाह गर्न सकिन्छ। त्यो यात्राले मात्र विश्वमा शान्ति छाउँछ। मानसिक, शारीरिक शुद्धि नभई जतिसुकै सेवा भक्ति गरे पनि माङले ग्रहण गर्दैन र माङबाट पाइने सबै प्रकारका शक्ति प्राप्त हुँदैन। गलत प्रवृत्तिले ज्ञानको ढोका खुल्दैन। ज्ञानको अभावमा नै मानिसले अनेकन गल्ती गर्छ। गल्ती गरेपछि सफलता प्राप्त गर्न सकिंदै भन्ने महागुरुको उपेदशहरूमा पाउन सकिन्छ।
चेतनाको अभावले नै मानिस भ्रमको खेती गर्न पुग्छ। अन्ततः त्यसैको सिकार बन्छ। के गर्दा राम्रो हुन्छ भन्ने खुट्याउने होस गुम्नु भनेको साम्यो (धर्म) गुम्नु हो। ज्ञान प्राप्तिका लागि अङ्सी (महात्मा)हरू कठोर साधना, ध्यान, तपस्या गर्थे। तिनै ज्ञानका खानीहरूले सुख, शान्ति, खुसी, आनन्दका लागि मानिस गर्नुपर्ने कर्म, कर्तव्य, धर्म पालनाको नियम बनाए। त्यही ज्ञानको सङ्ग्रहलाई साम्जीक मुन्धुम भनेर नामाकरण गरे। साम्जीक मुन्धुमलाई विभिन्न भाषामा अनुवाद गरी फैलाउनु आवश्यक छ। किरात समुदायमा भने साम्जीक मुन्धुम जीवन्त छ। तर, त्यसलाई कर्मकाण्ड, पूजा अनुष्ठानका बेला मात्र प्रयोग गरिंदै आइएको छ। यद्यपि, साम्जीक मुन्धुमको शक्तिलाई कसरी उपयोग गर्ने भन्ने ज्ञानको अभावमा त्यो शक्ति खेर जान पनि सक्छ।
माथि उल्लिखित विषयहरूलाई लिएर नै मुहिङ्गुम अङसीहरूले ध्यान साधनामा जोड दिए। मुन्धुमी भाषामा ‘लिङिबत् पोदे मुदिम्’ (स्थिर भएर ध्यान गरी ज्ञान प्राप्त गर) भन्ने भनाइ छ। मानिसमा जब ज्ञानबाट आलोकित हुन्छ तब मात्र मानवीय कर्म, कर्तव्य गर्न सक्छन्। शाश्वत जीवनलाई कालकोठरीमा राखेर अस्थायी र अनावश्यक वस्तुमा प्रलोभित गरिराख्ने मोह, लोभ, क्रोध, ईर्ष्या, अहङ्कारलाई ज्ञानको ज्वालाले खरानी बनाइदिएको हुन्छ।
महागुरु फाल्गुनन्दले दिशानिर्देश गर्नुभएको परम्सत्यमार्गमा ज्ञानहीन भएर यात्रा गर्नु केवल अल्पयात्रा मात्र हुन्छ, गन्तव्यमा पुगिन्न। त्यही कुराको सारलाई धर्मगुरु आत्मानन्द लिङ्देनले पनि भनिरहनुहुन्छ। वहाँले तपस्या गर्नुपर्छ। ज्ञानको बीज हामीसँग छ, उमार्न सक्नुपर्छ। ज्ञानको बीउ उमार्न सके मात्र सफलता प्राप्त हुन्छ। यति गहन वाणीहरू सुने ता पनि ध्यान साधना गर्ने, ज्ञान प्राप्त गर्ने प्यासी बन्न सकिएन।
सात्विक ज्ञानको अभावकै कारण मानिस जाल, षड्यन्त्र गर्नेहरूको शोषण, उत्पीडनमा परेर दास जीवन बिताउन बाध्य छन्। अर्कोतर्फ भौतिक सम्पत्तिको वैभव भए तापनि जीवनमा खुसी, शान्ति, आनन्द गुमाएका छन्। यही कुरा बुझेर सावायेहाङ किरात पूर्वजहरूले ध्यान साधनाको माध्यमबाट पूर्ण ज्ञान प्राप्त गरेर ब्रह्माण्डमा रहेका ग्रहगणदेखि पञ्चतत्त्वको गति, गुण, क्रिया सबै बुझ्न सकेका थिए। ती ग्रहहरूको स्वभाव क्रियाको बोध गराउने नाम राख्न समेत सफल भए। संसार परिचालन, नियमन गर्न सक्ने चेतनतत्त्वको मुल शक्ति तागेरा निङ्वाभूमाङसँग निकट हुनपुगे। त्यही निकटताले अथाह ज्ञान हासिल गरे।
फाबुङो फालिङ तिबुङो तिलिङ (बाँसको फेदमा बाँ“स, बेतको फेदमा बेत) भने झैं ती अखण्ड ज्ञानका ज्ञाताहरूको वंशमा महागुरु फाल्गुनन्दको जन्मावतार भएको हो। वहाँले परम सत्यज्ञान प्रवाह गरेर मुन्धुमको सात्त्विक ज्ञानको आलोक जगाउने अभियान चलाउनुभएको हो। तर, दूषित मानसिकता र कमजोर चेतनाका कारण त्यो अमूल्य ज्ञानमणिलाई चिन्न नसक्नु अनौठो होइन।
आजका वैज्ञानिकहरूले Universe Expansion (ब्रह्माण्ड विस्तार) भइरहेको छ भन्ने मत जाहेर गरेका छन्। हाम्रा पूर्वजहरूले पनि Vibration Power जो शाश्वत छ, विद्यमान छ, सृष्टि परिचालनमा निहित छ, जसलाई बुझेर मुन्धुम नाम लगाएर त्यही मुन्धुमको तात्विक परमज्ञानको सङ्ग्रहलाई साम्जीक मुन्धुम नामकरण गरे। यद्यपि, आज उपलब्ध साम्जीक मुन्धुम परिपूर्ण वा अल्प मात्र तयार हुन सकेको छ, ज्ञानको चक्षुले त्यसको खोज अनुसन्धान गरेर टुङ्गोमा पुग्न आवश्यक छ।
किरात पूर्वजहरूले शाश्वत धर्मको विषयमा दिशानिर्देश गरेको मुन्धुमी ज्ञान सम्पदालाई कसरी बुझ्ने भनी आफैंलाई सोध्ने, अध्ययन गर्ने बेला आएको छ। इतिहासको गहन अध्ययन गर्दा एक समय चक्रवर्ती सम्राट कहलिएर विश्वभर किरात सभ्यता फैलाएर न्याय, समानता बाँडेर राज गर्नेहरूको सन्ततिहरू कुन गतिमा छौं भन्ने गहिरिएर पहिचान गर्न सक्नुपर्छ। सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक रुपमा व्यापक बनाउन अभियानले किन गति लिन सकेन? यसको मुल कारण ज्ञानको अभाव, सात्त्विक आचरणको अभाव, दृढ सङ्कल्पको साथ विचार तथा लक्ष्यमा अडिग रहन नसक्नु हो। राजनीति, संस्कृति, सामाजिक, धार्मिक अभियानलाई मनोरञ्जन, स्वार्थ पूर्तिका रुपमा लिएर ज्ञानको बीज गुमराहमा पारेर आफैं निस्तेज भएपछि अरुले थिच्नु, दबाउनु स्वभावित हो।
महागुरु फाल्गुनन्दको सिवाखाहुनमा फक्ताङलुङको धेरै ठाउँमा उच्चारण भएको पाइन्छ। त्यसबाट बुझ्ने कुरा सात्त्विक विचारमा फक्ताङलुङ जस्तो अविचल, अडिग रहनु हो। सेनिङवा सेसे, फोनिङवा फोभो पनि भन्नुभएको छ। मनलाई नकारात्मक सोचबाट मुक्त गरेर पवित्र बनाउने, पवित्र मनले मात्र आत्माबोध हुन्छ, आत्माबाट अङ्कुरित ज्ञानले दुनियाको हितमा कर्म गर्न सक्छ। पवित्र सात्त्विक मनको फैलावटले जुन ज्ञानको प्रवाह गर्छ, त्यसबाट निर्माण भएको मानव आचरणले मात्र विश्व शान्ति र मानव एकता कायम हुनसक्छ। महागुरुको यो वाणी व्यवहारमा कति लागू भएको छ? किरात धर्मको वकालत गर्ने धार्मिक प्रणेताहरूले समीक्षा गर्ने कि नगर्ने? धर्मिक संस्थाको कार्यकर्ता भइयो, तर धार्मिक हुन सकियो कि सकिएन? आफूलाई ज्ञानदर्पणमा उभ्याएर हेर्न पर्दैन र?
समय आउने जाने भइरहन्छ। तर, आजका मानव, आजै गर्ने कार्य भोलि भनेर समय खेर फाल्ने, भ्याइन भन्ने बहानामा शाश्वत सूक्ष्म जीवनलाई बुझ्नेतर्फ लागिपरिएन भने सात्त्विक ज्ञान प्राप्त हु“दैन। अर्थात् आफ्नो साम (आत्मा)लाई बिउँताउने परिस्थिति बन्दैन।
किरात समुदायका मानिसहरूले आफूलाई बुझ्न कसैको दर्शनको पैंचो लिन आवश्यक छैन। जीवन, जगतलाई बुझ्ने, आफू मुक्त अवस्थामा पुग्ने आध्यात्मिक दर्शनका सात्त्विक विद्याहरू साम्जीक मुन्धुममा पर्याप्त पाइन्छन्। यद्यपि, मुन्धुमी शब्दहरूको गहन अध्ययन गरेर बुझ्नुपर्छ र व्यवहारमा लागू गर्नुपर्छ। शब्दको अर्थ बुझ्न सकिएन भने प्रयोग र व्यवहारमा विपरीत हुनपुग्छ। जसले गर्दा हासिल गर्न खोजेको वस्तु प्राप्ति हुनुको सट्टा सास्ती मात्र हुन्छ।
शरीर विज्ञानको विषयमा व्यायमका लागि मुन्धुमले इङ्गित गरेको ‘लाङ्फोलो फोलो लाङवान्नु वान्नु, हुक्फोलो फोलो हुक्वान्नु वान्नु, याम मुक्के फोसुम याम्जाङ्नु चाङ्नु’ (धर्तीमा हिंड्ने, उभिने खुट्टाहरू हल्लाउँदै, उफार्दै, कर्म गर्ने हातहरू हिलाउँदै, शारीरिक शक्ति बढाऔं, शरीरलाई जगाउँदै।) यो भयो शरीरलाई जागरुक गराउने विधा हो। अर्को महत्त्वपूर्ण पक्ष मानिसको श्वास हो। श्वासको भूमिका आत्मा र शरीरलाई जोडाइराख्नु हो। श्वासले छोडेको दिन आत्मा र शरीरको सम्बन्धविच्छेद हुन्छ, तसर्थ श्वास सन्तुलनमा राख्ने मुन्धुमी मत पाइन्छ।
‘थक्याम् सेसे वामा साङ्गो दिङ्ग सक्मा फोमा’ (शरीरलाई स्वस्थ र सन्तुलित राख्न प्राणलाई शरीरभरि प्रवाह गर्न नितान्त आवश्यक पर्छ।) त्यसलाई प्राणायम भनिएको हो। मुन्धुमी मतानुसार जपतप, ध्यानमा बस्दा, श्वास भित्र लिंदा सोसाम्हाङ र श्वास बाहिर छोड्दा हाङसोसाम भनेर मनचित्तले उच्चारित गर्ने भनी बताइएको पाइन्छ। श्वास भित्र लिंदा पूरक र बाहिर छोड्दा रेचक भनिन्छ। अत्यन्तै सूक्ष्म गतिले प्राण प्रवाह गर्नु मुन्धुमले सङ्केत गरेको छ।
जब मानव शरीर र प्राणको स्वास्थ्य सन्तुलन कायम हुने क्रम बढ्छ तब ध्यान गर्न सहज हुन्छ। ध्यान बस्न पूर्व तयारी सङ्कल्प गर्ने कुराहरू हुन्छन्। ध्यान केवल मानसिक सन्तुलनका लागि मात्र नभएर आत्मा मुक्तिको अवस्थामा पुग्ने माध्यम हो। ध्यान गर्दा पालना गर्ने नियमहरू १. नढाँट्ने, २ चोरी नगर्ने, ३ व्यभिचारी नहुने, ४ दुर्व्यसनी बनाउने चिज सेवन नगर्ने र ५. हिंसा नगर्ने। मनबाट हुने हिंसा, वचनबाट हुने हिंसा, शरीरबाट हुने हिंसा यी सबैबाट बच्नु पर्दछ। यी शीलको पालना गरे ध्यान बस्न लायकको होइन्छ। अर्थात् त्यो अनुशासनमा रहेर ध्यान गर्नाले ध्यान जम्दै जान्छ र विचलित मनको सन्तुलित अवस्था बन्ने क्रम बढ्दै जान्छ।
निरन्तर ध्यान गर्नाले नै इन्द्रियहरू निग्रह हुने क्रम बढ्छ। ध्यान युट्युबमा हेरेर कसैले गरेको देखेको भरमा ध्यान अपनाउनु हुँदैन। ध्यान जान्ने गुरुहरूको सिकाइअनुसार ध्यान गरियो भने ध्यान गर्दा आइपर्ने व्यवधानहरूको मारबाट गुरुले बचाउने गर्दछन्। निरन्तर ध्यान गरेर गहिराइमा डुब्दै गएपछि मोह, लोभ, ईर्ष्या, अहङ्कार निस्तेज हुन्छन्। यसपछि साम्यो (धर्म)को ढोकामा छिरिन्छ। त्यसभित्र छिरेपछि जनम जनममा गरिएका त्रुटिहरूको समस्या झेलिन्छ र समाधानको क्षणमा पुगिन्छ। त्यसैलाई समाधि भनिएको हो। त्यो अवस्था नै ज्ञान प्राप्तिको आनन्दमय शाश्वत उज्ज्वल समय हो।
शाश्वत साम र माङ (आत्मा र परमात्मा)को मिलन नै पूर्ण ज्ञान आलोकित समयले जीवनलाई जीवन्त प्रदान गर्दछ। शाश्वत आत्मा र परमात्माको संयोजनपछि अस्थायी वस्तुको प्रलोभनले कदापि सताउँदैन। महागुरुले मानव समाजलाई यो दिशामा केन्द्रित हुन मार्गप्रशस्त गर्नुभएको थियो तर पूरा हुन सकेन। सात्त्विक कर्मकाण्डदेखि मानव दुःख मुक्तिको अधुरो कार्य पूरा गर्न नै धर्मगुरु आत्मानन्द लिङदेनको जन्मावतरण भएको वहाँले सन्देश दिइरहनुभएको छ। विश्वलाई फूलबारी बनाउने गुरुको अनुपम विचारलाई व्यावहारमा उतार्दै लाने किरात धार्मिक कार्यकर्ताको जिम्मेवारी हो। तर, त्यो दिशामा लैजान धार्मिक संघ संस्थाले कुन कार्यक्रम अगाडि बढाएको छ? आध्यात्मिक उन्नतिबिना मानिसमा दया, प्रेम, करुणा पलाउँदैन। त्यसैले ज्ञान प्राप्त गर्ने दिशामा केन्द्रित भएर मुन्धुम अनुसार हाम्रो साम्ब्रोप्केका (अनाहतचक्र) सन्तुलित अवस्थामा ऊर्जा प्रवाह गरेपछि उब्जिने दया, प्रेम, करुणाले कसैको हानी गर्दैन। अरुको हितमा मात्र कर्म गर्छ। त्यसैले मुन्धुममा भनिएको छ– तिमी बाँचेको छौ भने अरुलाई बचाऊ, तिमी उठेको छौ भने अरुलाई उठाऊ। जब यी कर्महरू गर्न हृदयदेखि नै उत्सुक भइन्छ भने आफू धार्मिक भएको भनेर पहिचान खुल्न थाल्छ।
किरातीहरूले यही आचरण निर्माण गरुन्, विश्वका मानवलाई यो मुन्धुमी सवक सिकाउन सक्षम बनून् भनेर धर्मगुरुले तपस्या गरी ज्ञानको बीजलाई बुझ्न सन्देश दिइरहनुभएको छ। तर, त्यो अनन्तमय ज्ञानवाणीलाई प्रयोगमा ल्याउने प्यास नभएकाले होला त्यो वाणीलाई व्यवहारमा उतार्ने कुनै प्रयास भएको छैन। यद्यपि, त्यसलाई व्यवहारमा उतार्ने जागरुकता आउनुपर्छ।